काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनमा नीति तथा कार्याक्रम प्रस्तुत गरेका छन् । शुक्रबार प्रतिनीधि सभा बानेश्वर पुगेर राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले नीति तथा कार्यक्रममा विविध कार्यक्रमहरुको घोषणा गरेको छ । नागरिक उड्डयनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरेको छ ।
हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले आर्थिक व्यावसायिक वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण तथा बिस्तार गरिने जिकिर गरे । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिने बताए ।
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचना गर्ने भएको छ । नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने कार्यक्रममा उल्लेख छ । नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ । सबै प्रकृतिका जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेगरी कोषको भुमिका र दायरालाई बिस्तार गरिनेछ । कम्पनी, संस्था, सहकारी, फर्म तथा अन्य संगठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानूनी व्यवस्था गर्ने उल्लेख छ ।
सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ भने शिक्षक बैंक स्थापना गर्ने नीति समेत सरकारले लिएको छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेछ । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने। शिक्षकको राष्ट्रिय मापदण्ड लागू गर्ने कार्यक्रममा उल्लेख छ ।
उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गर्ने,विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने पौडेलले बताए । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन आर्थिक वर्ष २०८२/०८३ मा कार्यन्वयन गर्ने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो प्रतिवेदन कार्यान्वयन गर्दै अर्थतन्त्र चलायमान बनाउने बताए । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले सरकारलाई सो प्रतिवेदन बुझाइसकेको छ ।
यस्तो छ पुर्णपाठ
प्रतिक्रिया दिनुहोस्