काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा सरकार र प्रतिपक्षी आमने–सामने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार संसदको बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाबारे प्रश्न उठाएका थिए ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाबारे बिहिबार पनि संसदमा कुरा उठाए । प्रचण्ड र पुन दुबैले स्वार्थ समुहको योजनामा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढेको बताएका थिए ।
प्रचण्डले स्वार्थ समुहको आँखा अहिले धितोपत्र बोर्डमा परेको र उनीहरुले कानुनमै नभएको निर्देशिका बनाएर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्न खोजेको आरोप लगाए । प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्न माग पनि गरे । दाहालले मन्त्रिपरिषदबाटै २०८० बैशाख २६ गते निर्णय गरि नयाँ स्टकको लाइसेन्स सम्बन्धी प्रक्रिया रोकेर थप अध्ययन गर्न भनेका थिए । प्रचण्डले सोही दिन संसदमा पुगेर पुँजी बजारको अर्ब–खर्बको सेटिङ भत्काएको दावी पनि गरेका थिए ।
त्यस्तै, पूर्व अर्थमन्त्री बर्षमान पुनले पनि स्वार्थ समुहसँगको सेटिङमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि सरकारले तँछाड मछाड गरेको आरोप लगाए । उनले खुला प्रतिष्पर्धा र पारदर्शी ढंगले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
पूर्व प्रधानमन्त्री प्रचण्ड र पूर्व अर्थमन्त्री बर्षमान पुनलाई अर्थमन्त्री बिष्णु पौडेलले रोष्ट्रमबाटै जवाफ फर्काए । अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया प्रचण्ड र बर्षमान पुनले नै सुरु गरेको बताए । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया पनि प्रचण्ड र बर्षमान पुनले नै सुरु गरेकाले तमाम प्रश्नहरुको जवाफ पनि उनीहरुले नै दिनुपर्ने बताए ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया कानुन सम्वत नभएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्धा परेको छ । नयाँ स्टकको लाइसेन्स वितरण गर्न कानुनी त्रुटी भएको भन्दै कानुनका विद्यार्थी कृष्ण बहादुर थापाले पुस २३ गते मुद्दा दर्ता गरेका हुन् । दर्ता नम्बर ०८१–wc–००३५ मा रहेको मुद्धाको अर्को पेशी फागुन २१ गतेका लागि तोकिएको छ ।
माघ ९ गतेका लागि पहिलो पेशी तोकिएमा समय अभावले सुनुवाई हुन सकेको थिए । अब फागुन २१ गतेका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत नेतृत्वको इजलासमा रिटमाथि सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासमा बरिष्ठतम न्यायाधिशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडाल रहेका छन् ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ११८ को गलत ब्याख्या गरि धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न खोजेको रिट निवेदनमा भनिएको छ । यो मुद्दाको पेशी फागुन २१ गतेलाई तोकेको छ ।
बोर्डले कानुनमै नभएको अधिकार प्रयोग गरि ‘धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको दावी रिटमा छ । सो निर्देशिका धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ११८ संग बाझिएकाले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बदर गराउन माग गरेको छ ।
नयाँ स्टकको लाइसेन्समा नीतिगत भ्रष्टाचार भएको भन्दै २०८१ पुस १ गते भ्रष्टाचार विरुद्ध युवा अभियानका तर्फबाट अभियन्ता राजन शर्मा पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् । अख्तियारमा उजुरी नम्बर c-०३५३८४/२०८१/०९ रहेको छ । उजुरीकर्ता शर्माले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा कसरी पाँच अर्ब रुपैयाँ कमिसनको खेल हुँदैछ भन्ने आधार र केहि तथ्यहरु समेत पेश गरेको दाबी गरेका छन् ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको अवैध प्रक्रिया रोक्नुपर्छ: प्रचण्ड
अब बिचौलियाको आखा धितोपत्र बोर्डमा गएको छ। धितोपत्र बोर्डमा ऐनले नै कल्पना नगरेको निर्देशिका, कानुनले नै परिकल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारीमा जुटेको छ । गलत बाटोमा अघि बढेको छ । म तपाईहरुलाई यहि रोस्ट्रमबाट भन्न चाहान्छु । दुर सञ्चाकोर फ्रिक्वन्सी जस्तै नयाँ स्टक एक्सचन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पति मान्ने वातावरण बनोस् । दिनै पर्ने भए कमिशनबाट होइन, खुल्ला प्रतिस्पर्धाबाट दिनुपर्छ । अहिलेको अवैध प्रकृया रोक्नुपर्छ भनेर म जोडदार रुपमा भन्न चाहान्छु ।
स्वार्थ समुहलाई लाइसेन्स दिन किन तँछाड-मछाड गरेको ? बर्षमान पुन
म माननीय अर्थमन्त्रीज्यूलाई देखिरहेको छु । धितोपत्र बोर्डबाट नेपाल स्टक एक्सचेन्जको पुन: संरचना गर्ने कुराहरु आएका छन् । तर पुन:संरचना भैरहेको छैन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन तँछाड–मछाड गरिरहेको देखिन्छ । यसमा स्वार्थ समुहको स्वार्थ देखिएका छन् । जनतालाई थाहा छ । नेपाल स्टक एक्सचेन्जलाई पुन:संरचना गरी दीगो बनाइयोस् । र दिनै पर्दा निजी क्षेत्रमा जाँदा प्रतिपस्र्धाबाट जाने व्यवस्था गरियोस् । यसमा जनताको खबरदारी छ ।
सबै प्रश्नको उत्तर प्रचण्ड-बर्षमानले दिनुपर्छ: अर्थमन्त्री पौडेल
धितोपत्र बोर्डको सन्दर्भमा धेरै चर्चा भएको सुनेको छु । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्व अर्थमन्त्री वर्षमान पुनले यो विषयमा चर्चा गरिरहनु भएको छ । म उहाँहरुलाई सोध्न चाहान्छु । प्रश्न गर्न चाहान्छु । किन प्रक्रिया सुरु गर्नुपर्यो ? किन बिचमै रोक्नु पर्यो ? यसमा कुनै जवाफ दिनु पर्दैन ? मैले के गरेको छु भने हिजो भएको प्रक्रिया मैले टुङग्याइदिएको मात्रै हो ।
उहाँले नोटिस प्रकाशित गर्नु भयो । उहाँले क्यान्डिडेटहरु आव्हान गर्नु भयो । उहाँले छनोट प्रक्रिया अघि बढाउनु भयो । प्रक्रिया अघि बढाउने क्रममा उहाँलाई कुन पात्र मन परे परेन। भनेको मान्छे पर्ने भए–भएनन् । त्यसपछि उहाँले बिचमै रोक्नुभयो । त्यसपछि उहाँले सुरु गरेको प्रक्रिया उहाँले रोकेको प्रक्रिया मैले अघि बढाएको मात्रै हो । अदालतले प्रक्रिया नरोक्नु, अघि बढाउनु भनेपछि मात्रै हो ।
यसकारण, उहाँले बिचमा सुरु गरेको र उहाँले नै रोकेको हो । कसको प्रभावमा रोक्नु भयो ? यसरी प्रश्न गर्न सकिदैन ?
त्यो प्रकृयालाई अघि बढाउँदा गलत हुन्छ सभामुख महोदय ।
त्यस्तैगरी, नयाँ स्टक एक्सचेन्ज पनि प्रक्रिया अघि बढाउनु भा’छ । सेलेक्सन प्रक्रिया अघि बढाउनु भा’छ । सेलेक्शन भएका कम्पनीहरु अगाडी आएका छन् । त्यो तहसम्म उहाँहरु किन आउनु भयो ? बिचमा उहाँलाई किन रोकिनु पर्यो ? कस्को के आवश्यकताले रोकिनु पर्यो ? धितोपत्र बोर्डको सन्दर्भमा कानुन संवत ढंगले काम गर्छ । हिजो उहाँहरुले मन्त्रिपरिषदबाट एउटा अध्ययन समुह बनाउनु भयो । अध्ययन समितिले प्रतिवेदन दिएको छ । हामीले सो प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएका छौं । धितोपत्र बोर्डको सन्दर्भमा कुनै ‘हाई साउण्ड’ गर्नुपर्ने जरुरी छैन ।
संसद र अदालत छल्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी, पाँच अर्बको भारी बोक्दै ७ भाई संचालक
‘नयाँ स्टक एक्सचेञ्ज प्रिपेड लाइसेन्स हो’ भन्ने डा. युवराज खतिवडा अब के गर्लान् ?
नयाँ स्टक लाइसेन्समा भएको अर्बौ भ्रष्टाचारको रास्वपाले विरोध गर्ने, ‘बिचौलियाका लागि ल्याइयो’
प्रतिक्रिया दिनुहोस्