Shikhar Insurance
National Life

राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२५’ सुरु, युवामाझ वित्तीय चेतना अभिवृद्धि गर्ने

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौँ । ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ नाराका साथ ‘ग्लोबल मनी विक-२०२५’ आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा मनाइने यो वित्तीय साक्षरतासम्बन्धी विश्वव्यापी अभियानको यो १३औँ संस्करण हो।

नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेको हो। काठमाडौंका विभिन्न विद्यालयका करिब ६०० विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्घाटन समारोहमा गभर्नर अधिकारीले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै आवश्यकताका आधारमा उपयुक्त वित्तीय सेवा छनोट गर्नुपर्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाका उत्पादनहरू फरक हुने भएकाले सचेत भएर बचत तथा कर्जासम्बन्धी निर्णय गर्नुपर्नेमा जोड दिए। डिजिटल वित्तीय कारोबारको वृद्धि भएको सन्दर्भ उल्लेख गर्दै उनले अनलाइन कारोबार गर्दा सतर्कता अपनाउन आग्रह गरे।

ग्लोबल मनी विकअन्तर्गत मुलुकभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्। बैंकिङ, बीमा, धितोपत्र बजार तथा सहकारी सेवाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीमाझ अन्तरक्रिया, वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, श्रव्यदृश्य सामग्री प्रसारण, अन्तर्वार्ता तथा वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभाग तथा बैंकर्स एसोसिएसनका अधिकारीहरू र विद्यार्थीहरूबीच प्यानल छलफल आयोजना गरिएको थियो।

छलफलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका डा। नवराज अधिकारी, बीमा प्राधिकरणका सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत तथा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आफ्ना संस्थाका कार्य क्षेत्रबारे विद्यार्थीलाई जानकारी गराए। उनीहरूले विद्यार्थीहरूको जिज्ञासाको जवाफसमेत दिए।

नेपाल राष्ट्र बैंकको संयोजनमा चैत १० गतेसम्म सञ्चालन हुने यस अभियानले विशेष गरी किशोर तथा युवाहरूमा वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

विभिन्न वित्तीय संस्थाहरूले पनि आफ्ना तर्फबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्