काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा चैत १५ गते आक्रमण र लुटपाट गर्नेहरु माफीका लागी योग्य नभएको कम्पनीका चिफ अपरेटिङ अफिसर (सिओओ) पानु पौडेलले बताएका छन् । कम्पनीको प्रतिष्ठामाथी नै आँच आउनेगरी भएको आक्रमणले राम्रो सन्देश नदिएको सिओओ पौडेलले बताएका हुन् ।
सामाजिक सञ्जालमा ठूला दिल भएका व्यावसायी मिन बहादुर गुरुङले सानातिना सामान बोकेर हिडेका मानिसहरुलाई माफी दिनुपर्ने सुझाव आउन थालेपछि सिइओ पौडेलले माफी दिन योग्य हुन वा होइनन् सोच्नु पर्ने बेला आएको बताएका हुन् ।
उनले सिंहदरबारसँग भने, “सकारात्मक सुझाव दिनेहरुलाई म धन्यवाद दिन चाहान्छु। हामी तपाईंको चिन्ताहरू र सहानुभूतिका लागि कदर गर्छौं। यद्यपि, ती व्यक्तिहरू जसले कोटेश्वर स्टोरमा तोडफोड गरेका थिए र जसका उद्देश्य हाम्रो प्रतिष्ठानप्रति नकारात्मक थिए, के उनीहरू माफीका लायक छन? त्यस्ता कार्यले हाम्रो व्यापार र समर्पणलाई गम्भीर हानि पुर्याएको छ। हामी बुझ्छौं कि परिस्थिती कठिन छ र हामी सदैव कठिनाइका बीचमा समृद्धिको मार्गमा अघि बढ्न चाहन्छौं, तर यस्तो आक्रमणलाई सहन तत्काल सम्भव होला ? तथापि, हामी सबैको भलाई र भविष्यको सहकार्यको लागि सकारात्मक उपायहरूको खोजी गर्दै अघि बढ्ने छौं। धन्यवाद।”
१५ गतेको आक्रमणबाट कम्पनीको व्यापारिक वातावरणमा गम्भिर आघात पुगेको कम्पनीको भनाई छ । स्टोरले १५ गते अराजक राजावादीहरुको लुटेरासँग भिड्ने कर्मचारीलाई सम्मान गर्ने भएको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरेर कर्मचारीहरुलाई सम्मान गर्न लागेको हो ।
शुक्रबार राजावादीको आन्दोलनले उग्र रुप लिएपछि स्टोर बन्द गरेको थियो । तर राजावादी समर्थकका लुटेराहरुले सुपरमार्केट भवन नै तोडफोड गरी सामाग्रीहरु लुटपाट गर्न थालेपछि सुरक्षा गार्ड तथा अन्य कर्मचारीहरुले प्रतिवाद गरेका थिए ।
भाटभटेनीका सुरक्षा गार्डले लुटेराहरुलाई लखेटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अराजक भिडहरुसँग पनि नडराई आफ्नो कर्तव्य पुरा गर्ने कर्मचारीहरुलाई सम्मान गर्न लागिएको भाटभटेनीका सिओओ पानु पौडेलले जानकारी दिए ।
सिओओ पौडेलले भने, “अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोड र लुटपाट गरिरहेको समयमा आफ्नो कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिनुभएका कर्मचारी तथा व्यापार व्यवसायलाई निरन्तरता दिन रातभर मर्मत सम्भारको कार्यमा खटिनुभएका कर्मचारीहरुलाई सम्मान गर्न लागेका हौं ।”
चैत १५ गते भएको राजावादीहरुको आन्दोलनमा उत्तेजित हुँदै लुटेराहरुले भाटभटेनी तोडफोड गर्दै विभिन्न सामानहरु लुटपाट गर्नुको साथै भवनमा क्षति पुर्याएका थिए । लुटपाटबाट भाटभटेनीको कुल ८० लाख ३३ हजार १९२ रुपैयाँ बजारको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्