काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताउँदै नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए ।
दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आफु सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ थियो ।
उनले भने, ‘वर्षाको सिजन करिव करिव प्रारम्भ हुन थाल्यो । जेठ एक गते राती हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ तीलगाउँमा लेदोसहितको पहिरो आयो । सिंगो बस्ती त्रसित भए । गाउँका स्थानीयहरु अहिले चौरमा बस्नुपर्ने अवस्था छ । सरकारसँग आग्रह के छ भने यस्तो प्रकृतिका घटनाहरु देशका अन्य ठाउँहरुमा पनि अब क्रमश क्रमश हुनसक्छ । सरकारको पूर्व सावधानी, पूर्वतयारी प्रभावकारी ढंगबाट हुनुपर्छ । नान्खा गाउँपालिका तीलगाउँका बासिन्दाहरु जसरी अहिले त्रसित अवस्थामा छन् ।’
‘अब कुरा संसदको प्रभावकारिताका बारेमा र संसदको प्रभावकारितामा बारेमा आफ्नो भुमिका के हो भन्नेबारे आफ्नो तर्फबाट समीक्षा गर्ने विषय एकातिर होला । त्योभन्दा अलि पर गएर संसदको सामान्यतया तेजोबध गर्ने प्रयत्नमा अभिव्यक्तिहरु प्रस्तुतिहरु आएको हामी पाउँछौं । सबैभन्दा बढी बोल्ने सांसदहरुबाट नै त्यस्ता अभिव्यक्तिहरु आउने गरेको छ । प्रायोजित ढंगबाट राज्यका अंगहरु, राज्यकै महत्त्वपूर्ण संस्थाहरुमाथि नागरिकको भरोशा टुटाउने, कमजोर बनाउने त्यो बदनियतसाथ प्रायोजित प्रयत्नका आधारबाट पनि यस्ता अभिव्यक्तिहरु आइरहेका छन् भन्नेतर्फ सिंगो सदन यसमा सचेत हुनुपर्छ’ उनले बताए ।
उनले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्