काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह बढ्दै जाँदा विदेशी विनिमय सञ्चिति बढ्दै गएको हो ।
त्यस्तै, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, ९ महिनामा शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल सरकारको खर्च ९९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८३१ अर्ब ४० करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्