रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ ।
मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो । ७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम आज (मंगलबार) देखि शुरु हुने स्टेडियमका प्रवन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।
२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो ।
यही फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् । प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ ।
नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुशी लागेको प्रवन्ध निर्देशक कुँवरले बताए ।
सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाईटमा डे नाईट म्याच हुने चरणमा प्रवेश गरेको छ । केही दिनमा लाईट टेस्टिङको काम सकेर डे नाईट म्याचका लागि तयार हुनेछ ।
आवश्यक परे लाईटको क्षमता थप्ने तयारीका साथ आफूहरु बसिरहेको र संवद्ध निकाय अनि खेलाडिबाट समेत त्यसको परीक्षण गराइने प्रवन्ध निर्देशक कुँवरले बताए ।
एकातिर मैदान तयार भएर फ्लड लाईटको काम चलिरहेको छ भने अर्कोतिर अरु संरचना निर्माणको काम पनि तिब्र गतिमा भइरहेको छ । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ ।
नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च भइसकेको कुँवरले बताउनु भयो । चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । र यी संरचनाको काम अन्तिम चरणमा छ ।
भीआईपी बिल्डिंगमा नौ सय सिट क्षमताको प्यारापिट बन्नेछ । आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । यो काम केही समयमा शुरु हुने कुँवरले बताए । उनकाअनुसार ५ हजार दर्शक क्षमतासहितको प्यारापिटक एक वर्षभित्रै तयार भइसक्नेछ ।
प्रतिक्रिया दिनुहोस्