काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५ दशमलव ५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिए ।
उनले बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको बताए । अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा ऋणको पासो, ऋणको आकार बढेको र ऋण लिने सम्बन्धमा होशियार हुनुपर्ने चर्चा र टिप्पणी हुने गरेको बताउँदै आफू त्यो विषयसँग जानकार रहेको जिकिर गरे । उनले ऋणको लागि ऋण लिने नभई प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको दाबी गरे ।
उनले भने, “यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन्, ती मान्यताहरूको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा चालु आर्थिक वर्षको तुलनामा मैले केबल ५ दशमलव ५६ प्रतिशतले मात्रै आकार वृद्धि गरेको छु ।
त्यस कारण म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतको सम्बन्धमा चाहे त्यो राजश्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस् यी सबै यथार्थपरक छन् । आन्तरिक ऋणको सम्बन्धमा म यो कुरासँग जानकार छु कि, पछिल्लो दिनहरूमा ऋणको पासाको चर्चा हुने गरेको छ, ऋणको आकार धेरै बढ्दै गयो भन्ने चर्चा हुने गरेको छ, ऋण लिने सम्बन्धमा होसियार हुनुपर्छ भन्ने टिप्पणी हुने गरेको छ । म भन्न चाहन्छु, ऋणको लागि ऋण लिने होइन, ऋण उपयोगी ढङ्गले उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने, त्यसको प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।”
उनले सरकार ऋणप्रति सजग रहेको समेत दोहोर्याए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताए । उनले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गरे ।
उनले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताए । उनले १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहोर्याए ।
उनले भने, “राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजश्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ । चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रश्तुत गर्यौं । यस पृष्ठभूमिमा मैले बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजश्व वृद्धिको लक्ष्य राखेको छु । १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रश्ताव गरेको छु ।”
उनले आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा स्रोतको प्रश्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताए । उनले लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताए ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रस्ताव गर्दा उक्त प्रश्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा आफू धेरै होसियार भएको जिकिर गरे । उनले भने, “आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा बढी के कुरामा होशियार भएको हो भने, यो प्रश्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रश्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुनुपर्ने प्रकृतिको हुनुपर्छ । किनभने, लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिको आलोचनाहरू सुन्दै आएका छौँ । बजेटले स्रोतको प्रस्ताव गर्दा त्यो स्रोतको प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा म धेरै होसियार छु । स्रोतको सन्दर्भमा कुरा गर्दा ३ वटा पक्ष राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष ।”
उनले विगतमा राजश्वको लक्ष्य पूरा भएर राजश्वसँग संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाए ।
प्रतिक्रिया दिनुहोस्