काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको शरिरको ५ देखि ६ प्रतिशत भागमा जलन भएको किर्तिपुर अस्पतालले जनाएको छ । अस्पतालले मन्त्री पौडेलको फोक्सो र श्वासनलिमा समेत असर भएको हुनसक्ने बताएको हो ।
एक विज्ञप्ती जारी गर्दै अस्पतालले भनेको छ, ‘आज मिति २०८१ फाल्गुण ०३ गते शनिवार पोखराबाट जलन घाईते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३:३० बजे माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलज्यू तथा पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यू उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ । उहाँहरुको प्रारम्भिक मूल्याङ्गन अनुसार ५-६% जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
पोखराको एक कार्यक्रममा प्राविधिक समस्याका कारण मन्त्री पौडेललाई आगोको लप्काले भेटेपछि उनि घाइते बनेका हुन् । आगोको लप्काले भेटेको मन्त्री पौडेललाई सुरुमा गण्डकी अस्पताल पोखरामा उपचार गरेको थियो । थप उपचारका लागि सिम्रिक एयरलाइन्सको हेलिकप्टर मार्फत किर्तिपुर ल्याइएको थियो ।
आगोले पोलेको घाउको उपचार कठिन मध्येको एक मानिन्छ । मन्त्री पौडेललाई आगोले हात र अनुहारमा पोलेको कारण अस्पताल भर्ना गरिएको हो । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
उनका अनुसार प्राविधिक समस्याका कारण बेलुन उडाउने क्रममा इलेक्ट्रिक सर्ट भई हातमा केहि चोट लागेको छ । पोखरा महानगर पालिकाका मेयर धनराज गुरुङ र अर्थमन्त्री पौडेलले बेलुन उडाउने क्रममा आगो लाग्दा अनुहार र हातमा आगोको लप्काले भेटेको थियो ।
प्रतिक्रिया दिनुहोस्