Skip to content
Shikhar Insurance
National Life

सुनसरीका किसानले तरकारी खेतिबाट कमाउछन् मासिक ८० हजार बढी

Hyundai
NCELL
NIMB

सुनसरी । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।

बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् ।

यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरकारी बोकेर बजार जाने चटारोको दृश्य भने छुट्टै देखिन्छ । हिजोआज त गाउँमा बिहानै पनि बजार जस्तै चहलपहल बढेको छ । त्यहीँ देखिन्छीन ४८ वर्षीया रीता राजवंशी । उनले नौ वर्षदेखि तरकारीखेती गर्दै आएको छिन । विगतका दिन सम्झँदै उनले भनिन्, ‘१३ वर्षपहिले श्रीमान् विदेशमै छन् । विदेशमा कमाएर महिनामा २०–३० हजार पैसा घरमा पठाउँदा घर खर्च चलाउन हम्मेहम्मे हुन्थ्यो तर अहिले त हामी गाउँमै बसेर तरकारीखेती गरिरहेका छौँ’, श्रीमान् पनि घर फर्केर तरकारीखेतीमै लागेका छन् । तरकारी बेचेको पैसाले घर खर्च सहजै पुग्ने मात्र होइन, मासिक ८० हजारभन्दा बढी बचत गर्न सकेका छौँ ।

राजवंशी दम्पतीले अहिले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरेका छन्, पहिले बारी बाँझो थियो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो, थोरै ठाउँमा मकै र कोदो लगाइन्थ्यो खानका लागि त पुग्थ्यो तर नगद पैसा भने हातै पर्दैनथ्यो । ‘अहिले भने तरकारीले चालचलन नै बदल्यो । दिनहुँ तरकारी बेच्न सकिन्छ थोरै धेरै हातमा पैसा आई नै रहन्छ’, उनले भनिन् ।

उनको तरकारीबारीमा काँक्रो, बोडी, घिरौँला, कोपी, गोलभेँडालगायत मौसमअनुसारको तरकारी लगाइन्छ । मौसमले साथ दिँदा उत्पादन मनग्ये हुन्छ रीताले भनिन् ‘सिँचाइ र मलपानी बेलैमा मिलायो भने गत वर्ष झैँ आठ/नौ लाख रुपैयाँको तरकारी सजिलै बेचिन्छ नि ।’ उनका अनुहारमा आत्मविश्वास र खुसीको झल्को भने देखिएको थियो । उनले मुस्कुराउँदै भनिन् ‘पहिला लाग्थ्यो पैसा त विदेशमै छजस्तो तर अब त लाग्न थाल्यो पैसा त यही आफ्नै देशकै माटोमै रहेछ, अल्छी चाहिँ नगरेको र खट्नसके पैसा जति पनि कमाइन्छ ।’

राजवंशी परिवार जस्तै बराह क्षेत्रका अधिकांश स्थानीय घरपरिवारका किसानहरू अहिले तरकारीखेतीमै रमाइरहेका छन् । तरकारीखेतीले गाउँमा रोजगारीसँगै आत्मनिर्भरताको बाटो खोलिदिएको छ । एकातिर किसानको पसिना, अनि अर्कोतिर बारीको हरियालीले बराह क्षेत्रमा परिवर्तन मात्र देखिएको छैन, बारीबाट बजारसम्मको यात्रा अनि आत्मनिर्भरतातर्फको यात्रा पनि सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकालगायत विभिन्न ग्रामीण क्षेत्रहरूमा तरकारीखेती प्रवर्द्धन गर्न कृषि ज्ञान केन्द्र सुनसरीले विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बताए । उनका अनुसार केन्द्रले प्रत्येक वर्ष स्थानीय तरकारी कृषकहरूलाई अनुदानस्वरूप नगद, उन्नत बीउ, सिँचाइ उपकरण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिम र खेतको माटो परीक्षणलगायतका प्राविधिक सहयोगहरु प्रदान गर्दै आएको छ ।

साथै, कृषक समूह तथा सहकारीहरूसँगको सहकार्यमा नियमित रूपमा तालिम, कार्यशाला र प्राविधिक अवलोकन कार्यक्रमहरूले किसानहरूमा आधुनिक कृषि प्रविधिप्रति चासो बढाएको छ र आत्मविश्वास पनि थपिएको छ ।

श्रेष्ठका अनुसार आधुनिक तरकारीखेतीले बराह क्षेत्रका धेरै किसानहरूलाई आत्मनिर्भर बनाएको छ । दैनिक उपभोगका लागि मात्र होइन, बजारमा बिक्री गरी आम्दानी बढाउने प्रवृत्ति पनि विस्तार हुँदै गएको छ । तरकारी भण्डारण, बजार पहुँच, कीट प्रकोप र मौसमजन्य समस्याहरू समाधान गर्न केन्द्रले छिटो प्रतिक्रिया दिने र निरन्तर परामर्श सेवा उपलब्ध गराइरहेको छ । उनले भने, ‘यस्ता कार्यक्रमहरूको प्रतिफलस्वरूप कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ जुन समग्र गाउँको आर्थिक रूपान्तरणतर्फको सकारात्मक सङ्केत पनि हो ।’

पहिले बाँझो देखिने सुनसरीको बराह क्षेत्रका धेरै बारीहरू अहिले हरियालीले ढाकिएको छ । अहिले त दिनहुँजसो गाउँका किसानहरू आफ्नै बारीमा फलाएको तरकारी बोकेर हाटबजार पुग्ने गरेका छन् । माटो, पसिना र मेहनतको फलस्वरूप गाउँले जीवनमा आत्मनिर्भरताको स्वरुप परिवर्तन भएको छ । केही वर्षअघि यस क्षेत्रको दृश्य बेग्लै थियो । अधिकांश युवा ऋणको भारी बोकेर खाडी मुलुकतिर लाग्थे, गाउँ सुनसान जस्तै हुन्थ्यो, खेतबारी बाँझै तर अहिले वैदेशिक रोजगारी छाडेर थुप्रै युवा गाउँमै फर्किएका छन् । विदेशको तातो घाम छाडेका युवाहरू अहिले आफ्नै खेतबारीको हरियालीमा रमाइरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक रूपमा ‘सुन्दर कृषि फार्म’ सञ्चालन गर्दै आइरेहका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले विदेशको अनुभवलाई गाउँमै प्रयोग गरेर उहाँहरुले व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । अमिर र रघुवीर, दक्षिण कोरियामा पाँच वर्ष काम गरेर स्वदेश फर्किए भने छविलाल अफगानिस्तानबाट । उनीहरु तीनैजना स्वदेश फर्किएर २०७४ सालमा फार्म दर्ता गरी डेढ बिघा जमिनबाट रु छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए । अहिले उनीहरूको तरकारीखेती २० बिघा क्षेत्रमा फैलिएको छ ।

उनीहरुले चार बिघामा काँक्रा, तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, कोभीलगायतका मौसमी अनुसारको तरकारी लगाएका छन् । अमिरले भने,‘विदेशको पैसा यतै लगानी गर्दा आम्दानी राम्रो छ गाउँमै रोजगारी पनि दिन सकिएको छ आम्दानी पनि अनि सन्तुष्टि पनि मिलेको छ ।’ अर्का सञ्चालक रघुवीरका अनुसार फार्मबाट वार्षिक रुपमा १ करोडको तरकारी बिक्री हुन्छ । मल, तलबलगायत वार्षिक खर्च रु ६० लाख जति हुने गरेको छ । फार्ममा २० जना स्थानीयले रोजगारी पनि पाएका छन् ।

अहिले उत्पादन भएको तरकारी धेरै जसो दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालक छविलालले बताए । बाँकी तरकारी भने धरानको कृषि उपज, इटहरी, इनरुवा र बराह क्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका हुने गरेको छ । उहाँहरुलाई बिक्रीका लागि बजारको समस्या भने छैन, तरकारी खरिदका लागि व्यापारीहरू आफैँ फार्ममा पुग्ने गरेका छन् । सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाहरुबाट प्राप्त भएको सहयोगका साथै डिजिटल मार्केटिङका कारण पनि कृषिखेती गर्न निकै सहज भएको उनले बताए ।

स्वदेश फर्किएका यिनै युवाहरूले गाउँमा तरकारीबाट हरियाली मात्र होइन, आत्मनिर्भरताको नयाँ बाटो पनि बनाइरहेका छन् । स्वदेशमै सम्भावना देख्ने सोच पलाएपछि बराह क्षेत्रका बाँझो खेतले नयाँ रूप पाएको छ अनि युवाहरूले आफ्नै गाउँमै रोजगारी । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशी तरकारीखेतीमा रमाइरहनु भएको छ । अहिले उनको चार बिघाको बारीमा सागसब्जी, आलु, कोपी, बोडी र गोलभेँडासहित मौसमअनुसारका तरकारी उत्पादन भइरहेको छ । अर्जुन अब एक्लो हुनुहुन्न । उनका चार छोराले पनि यही लयमा उनलाई साथ दिइरहेका छन् ।

अर्जुन चन्द्रवंशीको मुख्य आम्दानीको स्रोत गोलभेँडा खेती हो । उनका छोरा श्रीरामका अनुसार गोलभेँडाबाट मात्रै वार्षिक करिब ३० लाख आम्दानी हुने गरेको छ । उनले भने,‘सुरुमा साग, आलु र कोपी खेती गथ्र्यौं तर पछिल्लो समय गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ नै ध्यान दिएका छौँ । मौसमले साथ दिए उत्पादन राम्रै हुन्छ । कहिले टिप्न र बेच्न भ्याइनभ्याइ हुन्छ ।’

गोलभेँडाको माग बजारमा उच्च रहेकाले बजारीकरणको समस्या हुँदैन । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराजलगायतका ठाउँबाट व्यापारीहरू नियमित रूपमा गोलभेँडालगायत उत्पादन भएको तरकारी किन्न बारीमै आउने गरेका छन् । अर्जुनको परिवारका चार दाजुभाइ मात्र होइन, थप २० जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।

गाउँमा किसान आत्मनिर्भर बन्न तरकारीखेतीले महत्त्वपूर्ण भूमिका खेलेको बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्रमुख तुलसा लिम्बूले बताए । उनका अनुसार अहिले बराह क्षेत्र नगरपालिका क्षेत्रका अधिकांश किसानहरू आफ्नै बारीमा हरियाली तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन् । ‘तरकारी उत्पादनले खाद्य सुरक्षा मात्रै होइन, गाउँको आर्थिक संरचना परिवर्तनमा समेत ठूलो योगदान पुर्‍याएको छ’, लिम्बूले भने ।

नगरपालिकाले किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । उनले भने ‘हामीले किसान र कृषक समूहहरूसँग समन्वय गरेर उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियालाई व्यवस्थित बनाउन प्रयासरत छौँ ।’ अहिले गाउँमै रोजगारी सिर्जना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । यद्यपि, जलवायु परिवर्तनका असरले कृषकहरूलाई केही चुनौती पनि थपिएको उनको भनाइ छ ।

अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायतका कारणले बाली नष्ट हुने, रोग कीरा बढ्ने र समग्र उत्पादन घट्ने जस्ता समस्याका कारण किसानको उत्पादन लागत बढ्न गई प्रतिफल अपेक्षाअनुसार नआउँदा कहिलेकाहीँ निराशा आउने गरेको पनि देखिन गरेको लिम्बूले बताए । मौसमअनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणाली, जैविक कीट नियन्त्रणलगायत प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्