म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुुन्तलाखेती हुने गाउँ हो ।
म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए । ‘साना खालका बुलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुुपरेको छ’, उनले भने ‘सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।’
दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी–बगरफाँट–बाँसखर्कभन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।
मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँसखर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यो वर्षमात्र बाँसखर्कबाट १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुुर रोकाले बताए ।
देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना किसानले वार्षिक ५ लाखदेखि ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुुने होभने सुन्तलालाई सुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताए ।
तत्कालीन राष्ट्रिय पुन:निर्माण प्राधिकरणमार्फत अघिल्लो कार्यकालमा बगरफाँट–बाँसखर्क सडक आयोजना सञ्चालन भए पनि पूूर्णता नपाउँदै प्राधिकरण खारेज भएपछि सङ्घीय सरकारको वार्षिक कार्यक्रमबाट आयोजना हटेकाले समस्या भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
‘पुनर्निर्माण प्राधिकरण खारेज भएपछि हराएको योजना खोज्दै सडक विभागदेखि डोलिडार र प्रदेश सरकारसम्म धायौ, कतै पनि कागजात भेटिएन’, उनले भने ‘नयाँ प्रक्रियाबाट सडक स्तरोन्नति गर्न सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’ पुरानो योजनामार्फत एक सय ५० मिटर सडक ढलान र केही ठाउँमा पर्खाल तथा नालीमात्र निर्माण भएको छ ।
सडकको समस्या देखाउनकै लागि गत माघ ११ गते गाउँपालिका र वडा कार्यालयले गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल जिसी, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरूपा शर्मा र प्रदेशसभा सदस्य भक्त कुँवरलाई बोलाएर बाँसखर्कमा सुुन्तला महोत्सव गरेर ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा आउनुभएका मुुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरूले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गरेर सहज रूपमा सुुन्तलालगायत कृषि उपज ढुवानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश सरकारले चालुु आवमा बगरफाँट–बाँसखर्क सडकका लागि ३० लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत गत वर्ष बेनी नगरपालिका–८ कालीपुल र जलजला गाउँपालिकाको बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ४५ मिटर लामो बेलिब्रिज जडान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्