काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पूर्वाधारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल टुरिजम बोर्डद्वारा आयोजित पर्यटक सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक जोशीले यस्तो बताएका हुन् ।
उनले पछिल्लोे समय मुल सडकबाहेक भित्री सडकहरुको अवस्थामा सुधार भइसकेको र आगामी दुई वर्ष भित्रमा मुख्य गन्तव्यहरु जोड्ने सडकपनि सम्पन्न हुने अवस्थामा रहेकोले पर्यटक आगमनको संख्यापनि राम्रो हुँदै जाने दाबी गरे ।
कार्यकारी निर्देशक जोशीले फ्रन्टलाइनमा भेटिने पर्यटक सवारी चालक र सहचालकको व्यवहारले नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भनेर चिनिएको स्पष्ट गरे । पूर्वाधारमा यतिधेरै कमजोरी भइरहँदा पनि आतिथ्यताले नेपालको बनेको छविलाई बचाउने काम गर्न उनले सरोकारवालालाई आग्रह गरे ।
उनले भने, ‘आजको दिनमा पर्यटकहरुको संख्या हामीले सोचेजति छैन । लगानी एकदम धेरै छ, यातायातको क्षेत्रमा पनि, होटलको क्षेत्रमा पनि र किन हुन सकिरहेको छैन भन्ने कुरापनि तपाई हामी सबैले बुझेकै छौं । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा हामीले अपेक्षितमात्रामा पर्यटक भित्र्याउन सकिरहेका छैनौं । तरपनि पछिल्लो समयमा नेपाल सरकार र स्थानीय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको छ । मूल सडकबाहेक भित्री सडकहरु सबै ठीक भइसकेका छन् । मूल सडकपनि आगामी डेढदेखि २ वर्षमा हाम्रा मुख्य गन्तव्यहरु जोडिने सडकहरु सम्पन्न हुँदैछन् ।’
‘हामीले यातायात क्षेत्रको कुरा गर्नुपर्दा गुणस्तरीयता, सफाई त छँदै छ त्योबाहेक पर्यटकलाई दिने आतिथ्यता छ त्यसलाई हामीले मेन्टेन गरिरहनुपर्ने छ । त्यही कारण हो जसले गर्दा नेपालमा आउने पर्यटकहरु एकपटक आएपछि पटक पटक आइरहेका छन् । करिब करिब ३६ प्रतिशत पर्यटकहरु एकपटक आएपछि आइरहनुहुन्छ । फ्रन्टलाइनमा भेटिने तपाईहरु नै हो, तपाईहरुले गर्दा नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भन्ने छवि बनेको तपाईहरुकै व्यवहारले हो । दिनदिनै व्यावसायिकता बढ्दैछ, त्यसैले तपाईहरु आशावादी भइदिनुस् छिटै हाम्रो पर्यटन साँच्चिकै राम्रो हुनेछ । हामीले आजका दिनसम्म राम्रो आतिथ्यता दिएर पूर्वाधारमा यति धेरै कमजोरी भइरहँदा पनि नेपालको छवि बचाउने जुन काम गर्नुभएको छ त्यो बचाइरहनुहोला’ उनले बताए ।
उनले पर्यटक यातायातको गुणस्तरीयता, सफाईलगायत पर्यटकलाई दिइने आतिथ्यताले एकपटक आएका पर्यटक पटकपटक आउने गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्