काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार जाँचपासमा कर्मचारीको तजबिजी अधिकार हटाउँनु पर्ने माग गरेका छन् । उनले भन्सार विभागले आज (आइतबार) आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बोल्दै यस्तो माग गरेका हुन् ।
उनले भन्सार प्रशासनलाई निजीक्षेत्रमैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्ने बताउँदै भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत माग गरे ।
‘अर्थतन्त्र चलायमान हुँदा राजस्व आफैँ बढ्ने भएकाले सरकारले स्वच्छ र प्रतिस्पर्धी व्यवसाय प्रबद्र्धनमा जोड दिनुपर्छ । भन्सार दर उच्च हुँदा खुला सीमानाबाट चोरी पैठारी बढेको छ । यसको असर राजस्वमा पनि परेको छ’ ढकालले भने ‘जाँचपासका लागि अत्याधुनिक उपकरणको प्रयोग गर्ने, जाँचपास परीक्षणको समयसीमा घटाउने, कारोबार मूल्यका आधारमा जाँचपास गर्ने र सन्दर्भ मूल्य पुस्तिका हटाउनुपर्नेलगायत सुझाव निजी क्षेत्रले दिँदै आएको छ । यी विषयहरु सरकारले भन्सार ऐन संशोधन र आगामी आर्थिक वर्षको बजेट बनाउँदा सम्बोधन गर्नेछ भन्नेमा निजी क्षेत्र आशावादी छ ।’
तयारी वस्तुभन्दा कच्चापदार्थमा एक तह कम भन्सार लगाइनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष ढकालले बताए । त्यस्तै, उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीभित्र आबद्ध गरिनुपर्ने, एकीकृत भन्सार जाँचचौकी (आसिपी) को सङ्ख्या बढाइनुपर्ने, चोभार सुक्खा बन्दरगाहलाई बढी सक्रिय बनाउनुपर्नेलगायत सुझाव उनले दिए ।
सरकारले केहि समयअघि अध्यादेशबाट ल्याएका कानुनी व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको र यसले नीतिगत र प्रक्रियागत झन्झट कम गर्न मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्