Shikhar Insurance
National Life

सञ्चालनमा आयो धनगढीको ‘बायोग्यास प्लान्ट’ , दैनिक ३० हजार किलो फोहर व्यवस्थापन

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार ११:५०
Hyundai
NCELL
NIMB

कैलाली । धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रवीनकान्त पन्तले बताए ।

उनले बाँकी फोहर गौशाला, कुखुरा फार्म आदिबाट सङ्कलन गरेर ल्याउने गरेको बताए । घरबाट निस्कने तरकारी, खानाजन्य फोहर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको जनाइएको छ ।

बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी दैनिक तीन हजार पाँच सय किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको पन्तले जानकारी दिए ।

उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पुर्‍याउनका लागि प्रक्रिया सुरु गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत २० करोड ८४ लाख लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कूल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तको भनाइ छ ।

प्लान्ट स्थापनाका लागि जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो । बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई फोहरमैला व्यवस्थापनमा सहज भएको छ ।

पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहरमैलाको प्रयोगबाट एक हजार किलो ग्यास उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्