काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्र बैंक भित्रकै आन्तरिक किचलोका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको बताएका हुन् । उनले राष्ट्र बैंक भित्रकै किचलो भनेर कामु गभर्नर डा. निलम ढुंगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको बिषय तर्फ संकेत गरेका हुन् ।
कामु गभर्नर ढुंगानाले कार्यकारी निर्देशक डा. भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् र राजीनामा स्वीकृत नभई गभर्नर नियुक्ती गर्दा भोली कानुनी अड्चन आउन सक्ने भन्दै गभर्नर नियुक्ती प्रक्रियामा बिलम्ब भैरहेको छ ।
काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच डा. भट्टलाई गभर्नर बनाउने समझदारी भैसकेको बताइन्छ ।
सभापति देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दावी समेत गरे । देउवाले भने–उहाँले गठबन्धनमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर काँग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’
कामु गभर्नर डा. ढुंगाना आफैं गभर्नर बन्ने दौडमा छिन् । उनले डा. प्रकाश कुमार श्रेष्ठ र डा. भट्टको राजीनामा स्वीकृत गर्न अस्विकार गर्दै आएकी छिन् । डा. श्रेष्ठले गरेको राजीनामा गभर्नर महाप्रसाद अधिकारीले समेत स्वीकृत नगरेको बताउँदै कामु गभर्नरले कार्यकारी निर्देशकहरुको राजीनामा स्वीकृत गर्नै नमिल्ने बताउँदै आएकी छिन् । राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ ।
गभर्नर नियुक्तीकै बिषयमा काँग्रेस र एमालेबिच नै अविश्वासको वातावरण बन्दै गैरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्