काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानूनी भएको बताए । उनले दुर्घटना छानबिनका लागि बनाइएको आयोगसमेत गैरकानूनी रहेकाले पुन: आयोग गठन गर्न माग गरे ।
उनले भने, ‘सात महिना अघि साउन ९ गते काठमाडौं एयर पोर्टमा भएको सौर्य जहाज दुर्घटना तीन सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाले सबै मान्यज्यूहरुलाई तत्सम्बन्धमा घटनाका सम्बन्धमा म्यासेज पठाएर जनकारी गराउनुभएको छ । उहाँको दाबी अनुसार दुर्घटना भएको जहाजको उडान गैरकानूनी छ । चार वर्षको बालकलाई समेत एयरलाइन्सको कर्मचारी बनाइएको छ । तत्सम्बन्धी बनाइएको आयोग गैरकानूनी छ । पुन: आयोग गठन गरी छानबिन गरी पीडितहरुलाई न्याय दिइयोस् ।’
सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताए । उनले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस्