Shikhar Insurance
National Life

प्लाष्टिकका सामग्रीको बढ्दो कारोबारसँगै घट्यो घरेलु हस्तकलाको माग

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार ११:१३
Hyundai
NCELL
NIMB

मोरङ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत ३ दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन् । पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउँछन् । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउँछन् ।

हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउँछन् । उनका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्थे । उनकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो’ उनले भने ।

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ । एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउँछन् ।

उनका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य १ लाख ५० हजार हाराहारी पर्छ । ‘सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन’ बराइलीले भने ।

आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउँछन् । प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्