काठमाडौं । शनिबारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो ।
आज असनमा बिहानैदेखि सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेहरुको संख्या उल्लेख्य रहेको देख्न सकिन्छ । शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।
करूणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
सेतो मच्छिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ ।
प्रतिक्रिया दिनुहोस्