काठमाडौं । काँग्रेस–एमालेको सत्ता गठबन्धन कति समयसम्म लम्बिएला भन्ने प्रश्न उठिरहेका बेला संसदमा यी दुई दलका सांसदहरुले एक अर्का विरुद्ध औँला ठड्याउन थालेका छन् ।
हुन त काँग्रेस सभापति शेर बहादुर देउवाले नै केहि दिन अघि ‘यो बजेट मलाई र काँग्रेसलाई पनि चित्त बुझेको छैन’ भनेका थिए ।
देउवाको त्यो अभिव्यक्तिपछि काँग्रेस–एमालेबिचको सत्ता गठबन्धनमा औपचारिक दरारको सन्देश स्थापित भएको थियो । काँग्रेस महामन्त्री गगन थापा र बरिष्ठ नेता शेखर कोइरालाहरुले त सरकारको विकल्पका बारेमा त्यसअघि देखि नै सार्वजनिक अभिव्यक्ति दिईरहेकै थिए ।
यतिबेला प्रतिनिधी सभामा सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ल्याएको बजेट माथि मन्त्रालयगत छलफल जारी छ । आइतबारको छलफलमा भने काँग्रेस–एमालेका प्रभावशाली सांसदहरुले नै एक अर्कामाथि औँला ठड्याए ।
काँग्रेस सांसदहरु अर्जुननरसिंह केसी र सुनिल शर्माले बजेटमा एमालेले एकलौटी गरेको आरोप लगाए । उनीहरुलाई काँग्रेसका अर्का सांसद कान्छाराम तामाङले साथ दिए । त्यसको प्रति उत्तरमा एमाले सांसद सुर्य थापाले काँग्रेसका मन्त्रीहरुमाथि प्रश्न गरे । काँग्रेस नेताहरुले सम्हालेका मन्त्रालयहरुको बिनियोजनमा बदमासी भएको र कतिपय अवस्थामा स्वर्गिय गणेशमान सिंहकै प्रतिष्ठामा आँच आउने गरि बजेट छुट्याईएको भन्दै थापाले कटाक्ष गरे ।
‘आठ दशवटा जिल्लाको बजेट हेर्दा ६०/४० को विनियोजनको अवस्था छ । ठूला शहरहरुमा बजेट हालेको छ, भ्युटावरलाई पैसा हालेको छ । अब संसदीय समिति बनाईयोस्, नभए सुशासन समिति बनाईयोस् । यो गम्भिर मात्रै होइन, खेद जनक पनि छ ।’, काँग्रेसका प्रभावशाली नेता समेत रहेका सांसद केसीले भनेका छन् ।
काँग्रेसका अर्का सांसद सुनिल शर्माले बजेट तत्कालै संसोधन हुनुपर्ने माग राखे । उनले चार पाँच निर्वाचन क्षेत्र बाहेकका जनता नेपाली होइनन् भन्दै प्रश्न पनि गरे । उनले अघि भनेका छन्– ‘यो बजेट तत्काल संसोधन गर्नुपर्छ । बजेट समन्यायिक हुनुपर्छ । यो राज्य सत्तालाई हातमा लिएर पावरको अभिमान देखाएर नागरिकलाई लिगलवेबाट लुट्न पाइँदैन् ।’
सांसद शर्माले मन्त्री र प्रधानमन्त्रीहरुले नागरिकमाथि कानुनी रुपले लुट मच्चाएको आरोप पनि लगाए । ‘पाँच वटा जिल्ला भित्रका नागरिक मात्रै नेपाली हुन त ? हाम्रो कर्णाली, मुगु, मधेशका जनाता नेपाली होइनन् ? पाँच जिल्ला बाहेक ७२ जिल्लाका जनता नेपाली होइनन्, तपाईहरुलाई अलिकति दया लाग्दैन् ? अलिकति भित्र थोरै हरि पनि छैन् ? त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, त्यहाँका नागरिकका गाउँमा भत्किएको पुल बनाउन पाए हुन्थ्यो, सिँचाईका लागि बोरिङ गाड्न पाए हुन्थ्यो भन्ने लाग्दैन् ?’, सांसद शर्माले कटाक्ष गरे ।
मन्त्री बनेकाहरुले आफुले मात्रै जनताको भोट पाएको, आफुलाई भोट दिनेहरुको मात्रै विकास हुनुपर्ने मान्यताका साथ बजेट विनियोजन गरेको आरोप पनि उनले लगाए ।
‘तपाईहरु देशको नेता, मन्त्री हो की सानो एउटा ’झुण्डको मन्त्री हो ? तपाईहरु एक्लै चुनाब जितेर आएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अनि काँग्रेस एमालेका मन्त्री भैसकेका मन्त्रीहरुलाई आग्रह गर्न चाहान्छु पाँच सात वटा निर्वाचन क्षेत्रका मतदाताले मात्रै रुख र सुर्यमा भोट हालेका हुन त ?, सांसद शर्माले कटाक्ष गरे ।
काँग्रेसका अर्का सांसद कान्छाराम तामाङले पनि बजेटको बिरोध गरे । उनले पनि केहि जिल्ला र क्षेत्रलाई केन्द्रित गरेर बजेट बिनियोजन गरिएको भन्दै कटाक्ष गरे ।
काँग्रेस सांसदहरु सरकारमाथि खनिएपछि एमाले सांसद सुर्य थापाले प्रतिवाद गरे । उनले काँग्रेस नेताहरुले सम्हालेका मन्त्रालयहरुको विनियोजनमाथि प्रश्न उठाए ।
उनले भने ‘भत्किएका वडा कार्यालय बनाउन बजेट छैन्, ति ठाउँका सिफारिस गर्दा बजेटमा अटाउँदैनन्, अनि थाहा पत्तो नभईकन गणेशमान सिंहको पनि सम्मान नहुने खालका गणेशमानका नाम जोडिएका योजनाहरु बजेटमा पाइन्छन् । मलाई त आश्चर्य लागेको छ, राष्ट्रिय योजना आयोगले ३ करोडका योजनाको सिलिङ दिएको थियो । शहरी विकास मन्त्रालय आज सबै भन्दा लथालिंग र अस्तव्यस्त मन्त्रालय देखिएको छ, जनताको जीवनस्तर उठाउने तिर ध्यान गएको छैन्, ससना टुक्रा र नेताहरुको अझ आफ्ना पिता गणेशमान जीको बजारमा त्यो पनि चर्चा छ है, नाममा बिनियोजन गरेर देश अघि बढ्छ । टुक्रे योजनाहरु फालिनुपर्छ ।’
उत्साहित माओवादी घ्यु थप्दै
काँग्रेस–एमालेका सांसदहरुले एक अर्का विरुद्ध फायर खोलेपछि माओवादी सांसदहरु भने उत्साहित देखिए । संस्थागत रुपमै बजेटको बिरोध गर्ने माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भने–अर्थमन्त्री देशको हुनुहुन्छ की रुपन्देहीको मात्रै ? म प्रश्न मात्रै गर्न खोजेको । शहरी विकासबाट रुपन्देशीमा ८४ वटा योजना गएको छ, सडकबाट ४७ वटा आयोजना गएको छ रुपन्देहीमा । तपाईलाई कर चाहिँ देशबाट चाहिने अनि बजेट चाहिँ रुपन्देशीमा मात्रै ? यसले कस्तो परिपाटी बस्छ ?’
उनले पाँच सात वटा विकासे मन्त्रालयहरुको बजेट निश्चित जिल्ला र क्षेत्रहरुमा केन्द्रित भएको आरोप लगाए ।
माओवादीका अर्का सांसद लेखनाथ दाहालले पनि विनियोजनले देशभर असन्तुलन कायम गरेको आरोप लगाए । उनले सत्तारुढ पार्टीको निश्चित नेताहरुको जिल्ला र क्षेत्र नै तोकेर धेरै बजेट विनियोजन गरेको बताउँदै त्यस्तो असन्तुलन स्वीकार्य नभएको बताए ।
सम्भावित नयाँ सत्ता गठबन्धनको झल्को
काँग्रेस–एमालेका सांसदहरुले बजेटका बिषयमा एक अर्का विरुद्ध औँला उठाइरहँदा माओवादीमा भने उत्साह देखिन्छ । एमाले र काँग्रेस औपचारिकताका लागि मात्रै सत्तामा छन् भन्ने दृष्टान्त संसदको छलफलले देखाउँछ । पछिल्लो समय काँग्रेसले २०७९ को चुनावी गठबन्धनको सत्ता समिकरण बनाउन कसरत गरिरहेको बताइन्छ । एमालेले भने काँग्रेस र माओवादीलाई बाहिर राखेर नयाँ सरकार बनाउन तयारी गरेको बताइन्छ । त्यसका लागि माओवादीलाई बिभाजन गराउने उपायको पनि खोजी भैरहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्