काठमाडौं । राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताए । बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाच्नै समस्या हुने जिकिर गरे ।
उनले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताए । उनले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले कर्मचारीले काम गरेन, कर्मचारीहरू काम गर्दैनन्, कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा यहाँ धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकासिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेर्यौ । प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौँ । प्राइभेट सेक्टरको तलब स्केल हेरौँ, पब्लिक सेक्टरको तलब स्केल हेरौँ, त्यसले खान पुग्छ ? नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ ? भ्रष्टाचार दुई किसिमको हुन्छ ।’
‘मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाच्ने हो कर्मचारीले ? हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ’ उनले बताए ।
उनले सरकारले ल्याएको बजेट केबल सत्तारुढ दलको दस्ताबेज मात्रै नभई साझा राष्ट्रिय आकांक्षाको प्रतीक रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्