काठमाडौं । ५ वर्षअघि शिलान्यास गरिएको वागमती प्रदेश सभा भवनको अस्थायी भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत कानून निर्माण गर्ने थलो प्रदेश सभा भवन नबनेको हो ।
विस २०७४ फागुन १४ गतेको बैठकवाट आफ्नो कार्य सञ्चालन गर्न थालेको प्रदेश सभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो । अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर २०७७ कार्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा भवन बनाउने ठेक्का पाएको थियो ।
अर्घाखाँची–सगुन–पारामाउण्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गर्यो र थप कमका लागि २०८० फागुन २३ गते सिउँडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।
हेटौंडा उपमहानगरपालिका–१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै प्रिफ्याबबाट अस्थायी संरचना निर्माणको काम भर्खरै सकिएर फर्निचर र विद्युतीय उपकरणको काम भइरहेको प्रदेश सभा सचिवालले जनाएको छ ।
फर्निचर र विद्युतीय उपकरणको काम गर्न प्रदेश सभा आफैंले ठेक्का लगाएर काम गरेको छ । सिउँडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचररफर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा २०८१ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार फर्निचरको काम ३ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने म्याद थियो ।
फर्निचर र विद्युतीय उपकरणको काम गत जेठ ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेमा निर्माण कम्पनीले ढिलाई गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ता बताउनु हुन्छ ।
प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्न नसकेपछि २०७७ सालमै अस्थायी प्रयोगका लागि भन्दै यो भवन बनाउन थालिएको थियो । प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ । साँघुरो सभाहलमा धेरै कुर्सी राखिएकाले प्रदेश सभा सदस्यहरुलाई सहजै हिँडडुल र बस्न पनि कठिनाई छ ।
प्रदेश सभा सचिवालय हाल संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्