काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको अनुभवको कागजात नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष भण्डारी विरुद्ध आज (बिहिबार) नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समुहले उजुरी दर्ता गराएको हो ।
नियुक्ति दिदाँ अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा काम गरेको उल्लेख छ ।
एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पद समेत देखिएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘भण्डारीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पेश गरेको कागजातमा सन् २००८ को जनवरी २० सम्म नेपालमा रहेको तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल (अहिलेको एनसेल) मा डेपुटी चिफ फाइनान्स अफिसर पदमा काम गरेका छन् ।
यस्तै, उनले पेश गरेको अर्को कागजातमा बुरुण्डीमा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १ जनवरी २००८ देखि ११ जनवरी २०१६ सम्म काम गरेको देखिन्छ । अर्थात १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन् ।
यसैगरी, भण्डारी सो समयमा नेपालको स्पाइस नेपालमा कार्यरत नभएको, वा बुरुण्डीको लासेल एसयुमा सीईओमा थिएनन् भन्ने स्पष्ट हुने उल्लेख छ । तत्कालिन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माको सल्लाहकार रहेका भण्डारी मन्त्रीको सल्लाहकार पदमा रहेकै समयमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए ।
मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेर नियुक्ति दिइएको भन्ने नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समुहले पेश गरेको उजुरी पत्रमा लेखिएको छ ।
‘अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा उनले सन् २००८ को जनवरी १ देखि २० सम्म नेपालको स्पाइस नेपाल, मेरो मोबाइलमा काम गरेका थिएनन् कि बुरुण्डीको लासेल एसयुमा काम गरेका थिएनन् भन्ने हेर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएकोले हामी यो निकायको ध्यानाकर्षण गराउँदछौँ ।’ उजुरीमा उल्लेख छ ।
तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल अहिले एनसेल भएको र बुरुण्डीमा रहेको लासेल एसयु कम्पनी सरकारी बक्यौता तिर्न नसकेर सन् २०२२ मा नै बन्द भइसकेको समेत उजुरीमा छ ।
अध्यक्ष भण्डारीले बुरुण्डीको बन्द भइसकेको कम्पनीमा कार्यरत रहेको अनुभव पेश गरेर नियुक्ति लिएकाले यसरी राज्यलाई ढाटेर नियुक्त भएका अध्यक्षले सो सस्थामा गए सगै हाल सम्म संस्थाको हितका निम्ति कुनै काम पनि गर्न सकेका छैनन तसर्थ अध्यक्ष भण्डारीले पेस गरेका कागजातका बारेमा राज्यलाई ढाट्नु गम्भीर अपराध भएकोले तत्काल अनुसन्धान गरि कानुनी दायरामा ल्याउन समेत नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समुहले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्