काठमाडौं । सगरमाथा संवाद हुन करिव दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५० भन्दा बढी देशका सरकार प्रमुखहरुलाई निम्तो पठाइने बताए । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको बताए ।
निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदुतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदुतावासलाई प्रयोग गरिएको बताए । उनले भने, ‘साढे ३ सय जनाको हाम्रो आँकलन छ । नेपाली र विदेशीहरु गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ ।’
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताउँदै जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्शानीबारे आवाज उठाइरहेको उल्लेख गरे ।
उनले वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको बताए । उनले यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको बताए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने बताए ।
उनले भने, ‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयिकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ । नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसावले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यस लियौँ । अर्को वर्ष अरु अरु थिममा हामी जानेछौँ ।’
मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाएको बताए । समयमै सम्पन्न गर्नेकुरामा पनि सरकार प्रतिवद्ध रहेको बताए । बढी भन्दा बढी प्रभावकारी बनाउनेगरी सरकार अघि बढिरहेको बताए ।
सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ ।
सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप: जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी दिए । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्