काठमाडौं। विदेशमा रहेका नेपाली नागरिकले राष्ट्रिय परिचय पत्र बिना नै बैंक खाता खोल्न सक्ने भएका छन् । बुधबार राष्ट्र बैंकले नयाँ व्यवस्था गर्दै राष्ट्रिय परिचय पत्र बिना नै खाता खोल्ने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकले बैंकमा खाता खोल्नका लागि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको थियो । राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्दा विदेशमा बस्ने नागरिकले खाता खोल्न असहज भएपछि राष्ट्र बैंकले व्यवस्था संशोधन गरेको हो ।
यसरी खाता खोलेका नागरिकले नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचय पत्र बनाएर पेश गर्नु पर्नेछ ।
राष्ट्र बैंकले सर्कुलरमा भनेको छ, ‘रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ । तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै वसी अनलाइन मार्फत् इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् । यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ । साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्