काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् ।स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । उनले कामको अनुभवबाट पनि स्वास्थ्य सेवा प्रवाह विकसित र परिवर्तन गर्दै जानुपर्ने बताए । उनले स्वास्थ्य सेवा दिनै नसकिने फितलो अवस्थामा नभएको जिकिर गरे ।
उनले भने, ‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन । प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौति भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र व्यवस्थित बनाउने हो । त्यसैले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा हामीले जे अभ्यास गर्दै आइरहेका छौँ, त्यो अभ्यासलाई कतिपय सन्दर्भमा बदल्नु जरुरी छ, कतिपय हाम्रो अनुभवबाट विकसित गर्नुपर्ने विषयहरु छन् । कतिपय नयाँ विषय ल्याउनुपर्ने अवस्था छ । त्यसैले ती सबै सन्दर्भलाई पहिचान गरेर हामीले व्यवस्थित स्वास्थ्य नीति अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’
मन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताए । उनले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘यो काम विशिष्टकृत क्षमता भएका व्यक्तिले गर्ने काम हो, त्यसैले तिम्रो क्षमता अलि विशिष्टकृत छ भन्ने कुरा रिकग्नाइज गर्नुपर्यो । यो काम अलि दु:ख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । काम गर्ने वातावरण बनाउनु पर्यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुपर्यो ।’
मन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्