Skip to content
Shikhar Insurance
National Life

म्याग्दीमा १३ अर्ब खर्चेर ६६.३ मेगावाटको हाइड्रोपावर बनाउँदै चन्द्र ढकाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले म्याग्दी जिल्लामा ६६.३ मेगावाटको जलविद्युत आयोजना बनाउने भएका छन् । ढकालको नेतृत्वमा सपोर्ट हाइड्रो लिमिटेडले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना बनाउन लागेका हुन् ।

बुधबार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधीहरुसँग वातावरणीय असर न्यूनीकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका बिषयमा छलफल आयोजना गरिएको थियो । आयोजनाले वातावरणीय असर न्यनिकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत नौ करोड ७० लाख २४ हजार विनियोजन गरेको जनाएको छ ।

कूल १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० लागत अनुमान गरिएको आयोजनाको ०.७५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव गरिएको छ । सुकेबगरमा बाँध र नागढुङ्गामा अडिट सुरुङ निर्माण सुरु गर्न संरचना तयार पारिएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले आयोजनाको सामाजिक उत्तरदायित्वको बजेट खर्च गर्ने प्रस्तावित विधिलगायत विषयमा चार बुँदे असहमति पेस गरेका थिए ।

यसअघि १४ मेगावाट क्षमताको मिस्त्रीखोला क्यासकेट जलविद्युत् आयोजनाका कारण पाउद्वार तातोपानी कुण्ड सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले स्थानीयवासीका पक्षमा फैसला गरेपछि उक्त आयोजना निर्माण प्रक्रिया रोकिएको छ । रासस

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा आयोजना भएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका बासिन्दाले तातोपानीको मुहानमा असर नपुग्ने गरी आयोजना बनाउन सुझाए ।

भुरुङ तातोपानीका अनिल हिराचनले विगतमा खोला गहिरिँदा, धार परिवर्तन हुँदा र थुनिँदाको असर तातोपानीको मुहानमा देखिएको अनुभव सुनाए । उनले कालीगण्डकीको पानी सुरुङमा हालेपछि पर्यटकीयस्थल तातोपानीको भविष्य सङ्कटमा पर्ने बताए ।

अर्का स्थानीयवासी आत्मा तुलाचन र अमृतमान शेरचनले अन्य आयोजनाको सुरुङ निर्माणका क्रममा जमिनमा हुने कम्पनका कारण प्रभावित क्षेत्रका पानीका मुहान सुक्ने समस्या देखिएको बताए । तातोपानीको मुहानमा असर पर्ने सुनिश्चितता गरेरमात्र जलविद्युत् आयोजना बनाउन उनीहरुले आग्रह गरे ।

अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमाना सुकेबगरमा बाँध, चार किलोमिटर ३१९ मिटर सुरुङ र वडा नं २ को सुकेबगरमा भूमिगत विविद्युतगृह प्रस्ताव गरिएको आयोजनाबाट अन्नपूर्णको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुनेछ । आयोजना प्रभावित क्षेत्रमा भुरुङ र पाउद्वार तातोपानीको कुण्ड रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वका आइएमई ग्रुपको अगुवाइमा हाइड्रो सपोर्ट प्रालीले यसअघि ५३.५३ मेगावाट प्रस्ताव गरिएको आयोजनाको क्षमता बढाएर ६६.३ मेगावाट बनाउन पूरक वातावरणीय मूल्याङ्कन गर्न लागिएको हो ।

भुरुङ–तातोपानीका अमृतमान शेरचनले कालीगण्डकीको सभ्यता र संस्कृतिलाई बचाउनुपर्ने बताए । हाइड्रो सपोर्टका अध्यक्ष चन्द्र ढकालले तातोपानी कुण्ड र स्थानीय जनजीवनमा असर नपर्ने र आयोजना बन्ने वातावरण बनाउन आग्रह गरे । उनले आयोजनाकातर्फबाट तातोपानीको मुहान बचाउने प्रतिबद्धता जनाए । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्