काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाएका हुन् ।
उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको बताए । उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे ।
उनले संसदीय समितिमा विचाराधिन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए । संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप समेत लगाए ।
उनले संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरु सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताए ।
उनले भने, ‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । त्यो कुराप्रति उहाँ गौरववोध गर्नुहुन्छ । उहाँलाई संविधानसित मतलव छैन, कानूनसँग मतलव छैन, विधिसँग मतलव छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलव छैन । जतिधेरै छलफल गर्यो त्यति राम्रो हो । विधिको पालन गर्नु अनिवार्य नै हो । राज्यका सञ्चालकहरुले नै विधिको पालन गर्दैनन् भने अरुलाई विधिको पालन गर भन्ने नैतिक अधिकार राख्दैन ।’
‘पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो भएको छैन । जनमानसले त्यसलाई गलत ठानेर आन्दोलन गर्यो फेरि उहाँले दोस्रो पटक विघटन गर्नुभयो । नियतमै खराब भएको हो वा राम्रो नियतले ल्याएको हो भन्ने कुरा तथ्यले जे भन्छ त्यही स्विकार गर्नुपर्छ । यसमा हामीले आग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । त्यसो भएको कारण उहाँले जुन अध्यादेश ल्याउनु भयो त्यसमा विधिले के भन्छ भने संसदीय समितिमा विचाराधिन विधेयकहरु छलफको क्रममा रहेको समयमा अध्यादेशबाट ल्याउन पाइँदैन’ उनले बताए ।
‘विधि उल्लङ्घन गर्ने कुरा दण्डनीय हुँदैन र ? दोस्रो, संसदको अधिवेशन नबसिरहेको बेलामा, राज्यलाई ठूलै नोक्सान भइरहेको छ भने त्यस्तो अवस्थामा अध्यादेश ल्याउन सकिन्छ । तर जब संसदको अधिवेशन बस्नुपर्ने बेलामा टार्दै उहाँले ढिला गर्दै जानुभयो । र १८ गतेपनि उहाँले बाध्य भएर बोलाउनु भएको हो । विपक्षी दलहरुले संयुक्त वक्तव्य दिएपछि बाध्य भएर संसदको अधिवेशन बोलाइएको हो’ उनले भने ।
उनले भूमिसम्न्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरुलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए ।उनले वर्तमान सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्