काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिए ।
उनले के आज बन्दुक बोकेर हामीसँग भएका युवाहरु जंगल पस्न सक्दैनन् ? अध्यक्ष लिङदेनले प्रश्न गरे । उनले प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई बचाउन अदालत र प्रहरीको दुरुपयोग गरिएको उनको आरोप छ ।
उनले भने, ‘देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो । हामीले शान्तीपूर्ण प्रदर्शन गरेको हो । एक जना प्रहरी मर्नु नपरोस्, एक जना पनि नागरिक मर्नु नपरोस् भनेर हामीले शान्तीपूर्ण बाटो अपनाएको हो । यसलाई कमजोरी नठानियोस् । आज दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा रु हामीले दुई/चार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त ? हामीले त्यो चाहेकै छैनौँ । तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, बर्बाद पारिराख्नुहुन्छ रु आफ्ना मान्छेहरुलाई जोगाउने र अरुलाई फसाउने काम गर्नुहुन्छ । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई अदालतको नाममा छाडेको कुरा हामीलाई मात्रै होइन हामीसँगै बसेको प्रहरीलाई पनि थाहा छ ।’
उनले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न समेत माग गरेका छन् । आइतबार काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्