काठमाडौं । पुँजी बजार सम्बध ३ संघले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई सुझाव दिएको छ । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजीबजार लगानीकर्ता संघका महासचिव एस. पी चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्कीको संयुक्त टोलीले सुझाव बुझाएको हो ।
संयुक्त रुपमा सुझाव पेश गर्दै शेयर धितो कर्जामा व्यक्तिगतर्फ १५ करोडको सिमा हटाउन सुझाएको छ । यस्तै, लघुवित्त संस्थालाई १५% भन्दा बढी लाभांश वितरण गर्न नपाउने भन्ने विषयको सन्दर्भमा नेपालले अंगिकार गरेको खुल्ला अर्थनीति सिद्धान्त विपरीत नीति भएकोले हालको उक्त व्यवस्थालाई हटाई लघुवित्त संस्थाहरूलाई कार्य सम्पादनमा पुर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने माग संघले गरेको छ ।
देशका करिब ६८ लाख लगानीकर्ताले पूँजी बजारमा संलग्न रही ४५ खर्ब भन्दा बढीको लगानी गरिरहेको र चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा १५ अर्व ३० करोड ९८ लाख ९५ हजार रूपैंया पुँजिगत लाभकर उठेको तथ्यांक संघहरुले राष्ट्र बैंकलाई बझाएको छ ।
बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा लगानीको सिमा सम्बन्धमा हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजिकोषको पुँजिबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम गरिनुपर्ने संघहरुले माग गरेका छन् ।
गैर आवासीय नेपाली (NRN) लाई पुँजिबजारमा भित्र्याऊने सम्बन्धमा गैर आवासीय नेपाली (NRN) ले नेपालको पुँजिबजारमा लगानी गर्न चाहेको तर हालको विधमान कानुनी अड्चनले सो निवेश सहितको नाफा पुन फिर्ता लैजान नसक्ने विधमान कानुनी अवस्था रहेकोमा सो जटिलतालाई परिमार्जन गरी गैर आवासीय नेपालीलाई नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी आवश्यक लगानीको वातावरण श्रृजना गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्