काठमाडौं । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट राजनीतिक, आर्थिक वित्तीय दस्तावेजका रुपमा आउनुपर्नेमा प्रशासनिक र वित्तीय दस्तावेजका रुपमा मात्रै आएको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आजको आवश्यकता सामाजिक न्यायसहित समृद्धिमा फड्को मार्ने गरी आउनुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् ।
उनले बजेटले मितव्ययिताका कोणबाट सामान्य खर्च कटाउने सम्भावना र पुँजीगत खर्च कार्यान्वयनको क्षमता बढाउने चुनौतिलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाए ।
नागरिकको अपेक्षाअनुसार काम हुन नसक्दा असन्तुष्टि र आक्रोश उत्पन्न हुँदा प्रतिगामी शक्तिहरु क्रियाशील हुन थालेको उनको भनाई थियो । प्रतिगमनको खतरालाई अन्त्यगर्ने अचुक अस्त्र भनेको सुशासन, समृद्धि र सामाजिक न्यायबाहेक अरु हुन नसक्ने उनले दाबी गरे ।
उनले भने, ‘यो सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र यो बजेटको नीतिगत पक्ष र यसका प्राथमिकताहरु प्रश्तुत गर्दा नै कस्तो बजेट आउँछ भनेर संकेत गरेको थियो । त्यसबारेमा मैले आफ्नो प्रष्ट धारणा राखेको थिए । आज बजेट त्यहीअनुसार आएको छ । अर्थात आज राष्ट्रको प्रमुख कार्यभार सामाजिक न्यायसहितको समृद्धिमा फड्को, त्यसलाई सम्बोधन गर्नेगरि बजेट आउन सकेन । बजेटले आज बाहिर चर्चा गरेजस्तो एउटा पक्ष यथार्थबादी हुन खोजिएको, व्यवहारिक हुन खोजिएको, सन्तुलित बनाउन खोजिएको भन्ने जुन चर्चा छ । म के ध्यानाकर्षण गराउन चाहन्छु भने यथार्थको दुईटा पाटो हुन्छ एउटा यथार्थको यथास्थितिवादी पाटो र अर्को यथार्थको जीवनशील पाटो, सम्भावनाको पाटो त्यसकारणले यो बजेटले यथार्थको यथास्थितिवादी पाटो पक्रियो । यसले बजेटलार्ई आशावादी, सम्भावना पक्रने गरि दृढ निश्चयकासाथ र बोल्ड भिजन, सोच र कार्यक्रमका साथ प्रस्तुत गर्न सकेन ।’
उनले बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको, दृढ निश्चय, प्रष्ट सोच विनाको, संकल्प बिनाको र आजको आवश्यकतालाई सम्बोधन गर्न नसक्नेगरी ल्याइएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्