Shikhar Insurance
National Life

जुगाडखोला करिडोर निर्माणका लागि पहिलो चरणमा ६ करोड बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार ११:३५
Hyundai
NCELL
NIMB

जुम्ला । चन्दननाथ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन सदरमुकाम खलङ्गा बजारको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माणको काम अघि बढाएको छ । सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउनेदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिडोर बनाउन थालिएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिएका हुन् ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताए । पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखाङ्कन यसअघि नै भइसकेको छ । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको नगरपालिका उपप्रमुख खड्काको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ६ करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभित्रै तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ–४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर निर्माण हुने छ । उक्त करिडोर निर्माणका लागि सहकारी विकास तथा भवन निर्माण आयोजना जुम्लाबाट २० करोड बजेट प्राप्त भएको छ ।

करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल निर्माण गरिने छ । जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्