Skip to content
Shikhar Insurance
National Life

‘परिवर्तनलाई बुझाउन नसक्दा अराजकता बढेको हो’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने विषय युवापुस्तालाई बुझाउन नसक्दा देशमा अराजकता बढेको बताएका छन् । बेलायतको लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रका बारेमा अहिलेका पुस्तालाई बुझाउन आवश्यक रहेकामा जोड दिएका हुन् ।

महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता व्यक्त गरिएको बताउँदै लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति अन्त्य गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।

‘भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ । यसको अन्त्य गर्न सबैले समन्वय गर्नुपर्ने जरुरी छ’, उनले भने । सामाजिक सञ्जालबाट भ्रम छर्ने गतिविधि बढेकामा उनले चिन्ता व्यक्त गरे । नेपाली समाजलाई अराजकतावादबाट जोगाउन सबैले साथ सहयोग गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए । ‘अहिले लोकतन्त्र र गणतन्त्रकाविरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ’, उनले भने ।

महासचिव पोखरेलले लोकतन्त्र प्राप्ति पछि हरेकको जीवनमा परिर्वतन भएको विश्वास व्यक्त गरे । बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन अनुरोध गर्दै उहाँले विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न आग्रह गरे । यही जेठ २९ गते उहाँ बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित त्यसतर्फ गएका थिए । महासचिव पोखरेल यही असार ८ गते स्वदेश फर्किनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्