काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।
थाइल्याण्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो । दुवै देशमा लगानी प्रवर्द्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजिकरण गर्ने बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहनुभएका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताए । उनले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको बताए ।
वार्तामा उद्योगी नेपालीहरुलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताए ।
उनले भने, ‘हामीले खास गरेर नेपालमा लगानी गर्नको लागि थाइ व्यवसायीहरुलाई आग्रह गर्यौं । हामीले उहाँहरुलाई नेपालको पुरानो कानूनहरु परिवर्तन भएको र लगानीको लागि सहज वातावरण बनेको तथा सरकारले पनि विदेशी लगानीलाई प्राथमिकता दिएको भन्दै लगानीका आह्वान गर्यौं । उहाँहरु पनि पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा इच्छा देखाएको छ ।’
‘त्यसैगरी हामीले नेपालबाट आउने उद्योगीहरुलाई अनअराइभल भिसाको लागि थाइ सरकारसँग पहल गरिदिनिुस् भनेर हामीले आग्रह गरेका छौं । उहाँहरुले पहल गर्ने बताउनु भयो । उहाँहरुले नेपालमा राजनीतिक स्थिरता नभएको हुनाले नेपालमा लगानीको सम्भावना के हुन्छ भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । हामीले राजनीतिक क्रियाकलाप र आर्थिक पाटो भिन्नै भएकाले अहिले नीति समेत परिवर्तन भएको कारण त्यसले फरक पार्दैन भन्ने कुराहरु राखेका छौं’ उनले बताए ।
थाइ व्यवसायीहरुले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुनेकुरा राखेको अध्यक्ष ढकालले बताए । सरकारले वैदेशिक लगानी समहजिकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरुले धारणा राखेको उनको भनाइ छ ।
बिमस्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरुसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरु अघि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्