Skip to content
Shikhar Insurance
National Life

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इस्ट् अमेजिङ

Hyundai
NCELL
NIMB

काठमाडौं । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ (आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुन: भने, ‘नेपाल साच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।’ माउन्टेन फ्लाइट जीवनकै अविष्मरणीय भएको उनले बताए ।

अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुशीको सिमान नरहेको बताए । ‘आश्चर्यजनक छ, खुशीको सीमै रहेन’, उनले भने । आफ्नो सगरमाथा आरोहणको अनुभवको जानकारी गराउँदै उनले नेपालतर्फबाट सगरमाथाको भूवनोट नयाँ र अनुपम लागेको प्रतिक्रिया दिए ।

नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन । सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताए । उनले भने ‘असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो ।’

नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटक–पटक नेपाल आउने गरेको उनको भनाइ थियो । काठमाडौंमा मङ्गलबार आयोजना भएको ‘अन्तरराष्टिय एभरस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ । आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टे फ्लाइट गराइएको हो । भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन् । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुन: काठमाडौं विमानस्थलमै अवतरण भएको थियो । लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो ।

निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरू हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ ।

पर्वतीय उडानका दौरानमा आखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा विदेशी पाहुना मोहित भए । अजङ्गसँग फैलिएका हिमशृङ्खला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिनेजस्तै देखिए । बादलुको घुम्टोमाथि चाँदीझै टल्किएका सुन्दर हिमालको मनमोहक दृश्यवादन गरेर सगरमाथा आरोही फर्किए ।

बिहानीको पारिलो घाम । आकाशमा बादलको लुकामारी । चाँदीझै टल्किने हिमालले पर्वतीय उडानलाई बेग्लै रौनक थपेको थियो । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल रहेका छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा विश्वभरका आरोहीको सपनाको हिमाल पनि हो । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

अन्तरराष्ट्रिय सगरमाथा आराहीहरूका विशेष जमघट ‘अन्तरराष्टिय एभरेस्ट समिटस समिट–२०२५’ पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो । एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी थिए ।

एभरेस्ट एलायन्स नपालका अध्यक्ष सुदर्शन नेपालले विदेशी सगरमाथा आरोहीलाई नेपालको हिमालको अनुपम सुन्दरताको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गरिएको बताए । उनले यो उडानमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि यही जेठ ४ गते बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ मा सहभागी विशिष्ट विदेशी पाहुनालाई माउन्टेन फ्लाइटमार्फत सगरमाथासहितका हिमाली सौन्दर्यको अवलोकन गराइएको थियो । अन्तरराष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पछिल्लो साता नेपालमा ठूला–ठूला अन्तरराष्ट्रिय सम्मेलन भइरहेका छन् ।

सगरमाथा संवादलगत्तै यही जेठ ९ देखि ११ सम्म बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना भएको थियो । यही जेठ २० देखि २२ सम्म हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण आयोजना हुँदैछ । नेपालमा एकपछि अर्को भइरहेका पर्यटनसम्बन्धी अन्तरराष्ट्रिय सभा सम्मेलनले नेपालको पर्यटन खासगरी साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । उनले स्रोत बजारमा गन्तव्य प्रवर्द्धनका लागि बोर्डले रणनीतिक कार्यक्रमका साथ अघि बढेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्