काठमाडौं । नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबिच प्रभावकारी सामुदायिक विकास आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहबिच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सम्झौताअनुसार चंखेली गाउँपालिका हुम्लामा पाँच शैय्याको अस्पताल निर्माण गर्न भारत सरकारले आर्थिक सहयोग गर्नेछ ।
चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले नेपाल सरकारसँग समन्वय गरी पाँच शैय्याको अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । उनका अनुसार संघीय मामिला मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको प्रस्ताव अनुमोदन भइसकेको छ र छिट्टै अस्पताल निर्माण कार्य सुरु हुनेछ ।
ँहुम्ला नेपालकै एक विकट जिल्ला हो । यहाँबाट सुविधा सम्पन्न अस्पतालसम्म पुग्न झण्डै दुई दिनको यात्रा गर्नुपर्छ । स्वास्थ्य सेवा अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्,’’अध्यक्ष शाहीले भने,ँ यसकारण हामीले पाँच शैय्याको अस्पतालका लागि पहल गरेका थियौं, जुन सफल भएको छ । अस्पताल निर्माण भएपछि प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयवासीलाई सहज उपचार सुविधा उपलब्ध हुनेछ ।’’
उनका अनुसार अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया नेपाल सरकारको कानूनअनुसार अघि बढाइनेछ । डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ, टेन्डर आह्वान गरेर काम अघि बढाइनेछ । अनुमानित लागत २० करोड रुपैयाँ रहेको उक्त अस्पताल १८ महिनाभित्र सम्पन्न गरिनेछ ।
शाहीले अस्पताल निर्माणका लागि समन्वय गर्ने नेपाल सरकार, भारतीय दूतावास तथा अन्य सरोकारवालाहरूप्रति आभार प्रकट गर्दै निर्माण कार्य तत्काल सुरु गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्