काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताए । उनले राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरे । उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाए ।
उनले भने, ‘नेपालमा प्रजातन्त्रको नाममा प्रजातन्त्रमाथि प्रहार भयो, जनताको नाममा जनताको सोशन गरियो, त्यसको विरुद्धमा आवाज उठेको छ । यो संविधानको दुरुपयोग गरेर जसरी संविधानको विपरित जान खोजिएको छ त्यसको विरुद्धमा आवाज उठेको छ । त्यो आवाजको एउटा कुरा अब परिवर्तन नगरी हुँदैन । पहिला पहिला नेपालमा दुई खम्बे राजनीति भन्ने थियो । संविधानभित्रको राजसंस्था र प्रजातन्त्र । अब हामी भन्छौँ नेपालमा तीन खम्बे राजनीति आवश्यक भइसकेको छ । देशलाई संविधान भित्रको राजसंस्था चाहिएको छ, भविभावकको भुमिका खेल्ने र बहुलबादमा आधारित जनताको सर्वोच्चसहितको प्रजातान्त्रिक व्यवस्था चाहिएको छ । नेपालको पहिचान सर्वधर्म समभाव विश्वमा हिन्दु राष्ट्रको पहिचान पनि चाहिएको छ । देशमा स्थिरताका लागि, अगाडी बढाउनका लागि र नयाँ परिवर्तनका लागि यी तीन वटा खम्बा आवश्यक भइसकेको छ ।’
पूर्वअध्यक्ष डा लोहनीले नेपालका सञ्चारमाध्यमहरुले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई जनताले गरेको स्वागतलाई ठूला मिडियाले स्थान नदिएकोप्रति आक्रोश व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्