काठमाडौं । अन्यथा नभए आगामी दुई हप्ताभित्रै मुलुकले नयाँ अर्थमन्त्री पाउँनेछ । त्यतिबेला अर्थ मात्रै होइन, गृह र पर्यटनसहितका मन्त्रालयहरुमा पनि नयाँ अनुहारले प्रवेश पाउनेछ । सत्तारुढ गठबन्धनका प्रमुख घटकहरु काँग्रेस, माओवादी, एकिकृत समाजवादीका उच्च नेतृत्वका बीचमा छठ लगत्तै मन्त्री फेर्ने समझदारी बनिसकेको छ ।
त्यसो त दशैं अघि नै मन्त्री मण्डल पुनगर्ठनको तयार पनि नभएको होइन, तर चाडबाडका समयमा मन्त्रीहरुलाई घर पठाउँदा राम्रो सन्देश नजाने भन्दै रोकिएको थियो । मन्त्रीमण्डल पुनर्गठनको छलफलका लागि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो मेची–महाकाली यात्राकै क्रममा काठमाडौं आएका थिए । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाबीच प्रचण्डको ‘अमेरिका(युएन महासभा)–चिन’ भ्रमण लगत्तै मन्त्रीहरु फेरबदल गर्ने समझदारी बनेको थियो ।
एकिकृत समाजवादीले पनि आफ्ना मन्त्री फेर्ने तयारी गरेको थियो तर एक–एक बर्षमात्रै मन्त्री बनाउने पूर्व प्रतिवद्धता तोड्न नहुने सुझाव आएपछि अब समाजवादीका मन्त्रीहरुको जिम्मेवारी भने फागुनसम्म लम्बिन सक्नेछ ।
यतिबेला सरकारमा रहेका दुई जना मन्त्रीको कार्य सम्पादनबाट प्रधानमन्त्री र काँग्रेस सभापति दुबै जना रुष्ट छन् । अर्थमन्त्री डा. प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण सरकार चौतर्फी घेराबन्दीमा परेको र दिनप्रतिदिन बदनाम हुँदै गएको निष्कर्षमा शिर्ष नेताहरु पुगेको स्रोत बताउँछ ।
‘अर्थमन्त्रीले इकोनोमिक्स नै बुझ्नु भएन, उहाँका कारण न निजी क्षेत्र खुसी छ, न कर्मचारी खुसी छन् न त नागरिकमै राम्रो सन्देश गएएको छ, अर्थमन्त्रीका कारण गठबन्धनको इमेज ठ्यामेज मात्रै रहेको निष्कर्षमा शिर्ष नेता पुगेको देखिन्छ’, उच्च स्रोतले भन्यो । मुलतः प्रधानमन्त्रीलाई अर्थमन्त्रीको कार्य सम्पादनसँग चित्त बुझिरहेको छैन् । त्यसो त काँग्रेस सभापति शेर बहादुर देउवाकै टिम भित्र पनि अर्थमन्त्री डा. महतका कारण पार्टी प्रति निजी क्षेत्र र आम नागरिकको विश्वास घट्दै गैरहेको निष्कर्षसहितको छलफलहरु बाक्लै हुन थालेका छन् ।
उता, गृहमन्त्रीको कार्य सम्पादनमा त शेर बहादुर देउवाले प्रचण्डसँगै पटक पटक असन्तुष्ठि पोख्दै आएका छन् ।
सत्ता गठबन्धनलाई यतिबेला गतिलो नयाँ अर्थमन्त्री फेला पार्न ठूलै सकस छ । अर्थमन्त्रीका आकांक्षी त दर्जन बढी नेता छन् तर अर्थतन्त्र सुधार्न सक्ने, निजी क्षेत्रको मनोबल उकास्न सक्ने र नागरिकमा विश्वास बढाउन सक्ने पात्र पाउन भने मुस्किल देखिएको शिर्ष नेताहरुले छलफलमा स्वीकार गर्न थालेका छन् ।
अर्थशास्त्रका पीएचडी डा. महतको दम्भी व्यवहार र रुखो बोलीले सिंगो निजी क्षेत्र सरकारसँग रुष्ट छ । नागरिकमा सरकारले काम गरिरहेको छ भन्ने विश्वास हट्दै गएको छ । अब आउने अर्थमन्त्रीले निजी क्षेत्रसँगको सम्बन्ध सुधार्ने, नागरिकमा विश्वास बढाउने, राजश्व संकलन बढाउने, विकास खर्चको रफ्तार बढाउने मात्रै होइन की अन्य केहि समस्याहरुको पनि समाधान गर्नुपर्नेछ । जस्तो की अहिलेको गठबन्धन र त्यसका अर्थमन्त्रीसँग नेपाल राष्ट्र बैंकका गभर्नरको सम्बन्ध बिग्रिएको छ । अर्थ मन्त्री र गभर्नरको सम्बन्ध बिग्रिएकै कारण पनि धेरै समस्याहरुको सृजना भएको हो । नयाँ आउने अर्थमन्त्रीले गभर्नरसँगको सम्बन्धलाई पनि सुधार्नु पर्नेछ ।
यस्तो अवस्थामा अहिले डा. महतको विकल्पमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, डा. नारायण खड्का, बिनोद चौधरी, उदय शमशेरण राणा लगायतले अर्थमन्त्री बन्ने चाहना राखेका छन् । काँग्रेस भित्रको राजनीतिक सत्ता समिकरणमा नयाँ ट्विष्ट आएमा महामन्त्री गगन थापा समेत अर्थमन्त्री बन्न सक्नेछन् । उता, माओवादी केन्द्रबाट बर्षमान पुन र जनार्दन शर्मा अर्थमन्त्रीका स्वभाविक दावेदार हुन् । काँग्रेसले गृहमन्त्रालय लिएर माओवादीलाई अर्थमन्त्रालय दिएमा यी दुईमध्ये एकले अर्थमन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
त्यस त काँग्रेस र माओवादी बाहेकका दलबाट अर्थमन्त्री बनाउने बारे पनि यथाकदा छलफल सुरु भएको छ । त्यस्तो अवस्थामा एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डेको नाम आउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्