काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताएका हुन् ।
‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,’ अधिकारीले भने । उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे ।
बैंकिङ क्षेत्रका बारे उनले भने, ‘बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजारमुल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।’ गर्भनर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।
गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गरे। उन भने, “फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ ।”
उनले राजस्व पनि सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैंक तथा वित्तीय संस्थामा निक्षेत्र पर्याप्तमात्रामा रहेको तथा पर्यटक पनि उल्लेख्य सङ्ख्यामा वृद्धि भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए । उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनु पर्ने बताए ।
‘अहिले धेरै पर्यटक भित्रिएका छन् । बैंकमा तरलता पनि बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधारणमा विश्वासको वातावरण बनाउन सहयोग पु¥याउनु पर्छ ।’ ढकालले कर्णालीमा गएको भुकम्प प्रभावितलाई आफूहरुले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिक भन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रुपमा चलायमान हुन नसकेको बताए । मल्लले बजेटमा रहेको प्राकृतिक स्रोत निर्यातको विषय उल्लेख भएपनि कानुनी अप्ठेरो रहेको बताए । उनले छिटो कानुन बनाई जडिबुटी देखि प्राकृतिक सामाग्री निर्यात बढाएर व्यापार घाटा कम गर्नपर्ने बताए ।
।
प्रतिक्रिया दिनुहोस्