काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा १ खर्ब ८ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ ।विभागले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यसवर्ष ११.२ प्रतिशत बढि राजस्व संकलन गरेको हो।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा विभागले ९७ अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा आयात व्यापारमा १.६९ प्रतिशतले मात्र बृद्धि भएको भएतापनि राजस्व संकलनमा उल्लेखनिय प्रगति भएको देखिएको छ।
भन्सार विभागमा नयाँ नेतृत्व आएसंगै राजस्व चुहावटमा शुन्य सहनशिलता अवलम्बन गर्ने नीति लिएको छ। विभागबाट अनलाईनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडी पछाडी समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ । अनुगमनको क्रममा भन्सार मुल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कार्वाही गर्न लगाउने गरिएको छ । यसरी अनुगमन गर्दा गम्भिर राजस्व छलि हुन सक्ने देखिएमा त्यस्ता कन्साईमेन्ट रोकि विभागबाटै छड्के परिक्षणको लागि टोलि पठाउने कार्यको सुरुवात भएको छ ।
त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पुर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारी बाट हटाउने जस्ता नीति अवलम्बन गरिएको छ ।
विभागले प्रत्यक्ष अनुगमनबाट चालु आर्थिक वर्षको श्रावणमा १२ करोड १८ लाख,भाद्रमा १४ करोड र असोजमा २० करोड थप राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा प्रत्यक्ष अनुगमनबाट श्रावणमा २ करोड ३० लाख,भाद्रमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरेको थियो । गत आर्थिक वर्षको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिव ८२४ प्रतिशत थप राजस्व संकलन गरेको देखिएको छ ।
विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजस्व संकलनमा सुधार भएको, समग्र व्यापार बृद्धिको तुलना भन्दा राजस्व संकलनको बृद्धि दर बढि भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सवै भन्सार कार्यालयमा भन्सार मुल्यांकनमा एकरुपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्