काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको ‘पोष्ट मर्जर इफेक्ट’ खोजी थालेको छ । पुँजी वृद्धि मार्फत बीमा कम्पनीहरुको संख्या घटाउने योजनामा सफलता प्राप्त भएको निष्कर्ष निकालेको प्राधिकरणले अहिले भने पोष्ट मर्जर इफेक्टको खोजी थालेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड कायम हुनुपर्ने व्यवस्था अघि सारेर मर्जरका लागि दबाव दिएको थियो । सोही नीतिका कारण अहिले जीवन र निर्जीवन बीमा कम्पनीहरुको संख्या घटेर १४/१४ वटामा सिमित भएको छ ।
जस अनुसार ९ वटा जीवन बीमा कम्पनी मर्जर भएर चार वटा बनेका छन् ।
सुर्या–ज्योतिः सुर्यज्योति लाइफ
सानिमा–रिलायन्सः सानिमा रिलायन्स लाइफ
प्रभु–महालक्ष्मीः प्रभु महालक्ष्मी लाइफ
प्राइम–गुराँस–युनियन–हिमालयन लाइफ
त्यस्तै निर्जीवन बीमा कम्पनीहरु पनि १२ वटा मर्जर भएर ६ वटा कम्पनी बनेका छन् ।
हिमालयन–एभरेष्टः हिमालयन एभरेष्ट इन्स्योरेन्स
युनाइटेड–अजोडः युनाइटेड अजोड इन्स्योरेन्स
सिद्धार्थ–प्रिमियरः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
सगरमाथा–लुम्बिनीः सगरमाथा लुम्बिनी इन्स्योरेन्स
सानिमा–जिआईसीः सानिमा जिआईसी इन्स्योरेन्स
आईजिआई–प्रुडेन्सियलः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
यसरी जीवन तर्फ पाँच वटा कम्पनीको संख्या घटेको छ भने निर्जीवन तर्फ ६ वटा कम्पनीको संख्या घटेको छ । ‘मर्जरको हाम्रो उदेश्य सफल भएको छ, कम्पनीहरुको संख्या पनि घटेको छ र ति बलिया एंव प्रतिष्पर्धी पनि बनेका छन्’, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने । उनले मर्जरको उदेश्य पुरा भएको र अब भने पोष्ट मर्जर इफेक्टको खोजी थालिएको बताए । ‘मर्जर सफल भएपछि त्यसका इफेक्टहरु के के हुन् ? कम्पनीहरुमा के के समस्या देखिएका छन् र तिनको समाधानका उपाय के के हुन सक्छन् भनेर अध्ययन गरिरहेका छौं’, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने ।
के के देखिए समस्या ?
मर्जरमा गएका कम्पनीहरुको मुल समस्याका रुपमा कर्मचारी व्यवस्थापनको किचलो नै देखिएको छ । कतिपय कम्पनीहरुले भिआरएस मार्फत कर्मचारी व्यवस्थापनको समस्या टार्ने प्रयास गरेको भएपनि त्यसमा सन्तुलन नदेखिएको स्वंय कम्पनीकै उच्च पदस्थहरु नै स्वीकार गर्छन् । भिआरएसमा पनि एक रुपता देखिएको छैन्, कतिपय कम्पनी भिआरएस नल्याएरै कर्मचारीलाई जागिर छाड्न बाध्य बनाउने मनस्थितिमा देखिएका छन् ।
त्यस बाहेक जीवन बीमा कम्पनीहरुको हकमा बीमांकीय मूल्यांकनको झमेला पनि टुंगिएको छैन् । जसले गर्दा जीवन बीमा कम्पनीहरुलाई बार्षिक वित्तिय विवरण तयार पार्ने मुस्किल भैरहेको छ । मर्जरमा गएका कम्पनीहरुले मर्जर पूर्व गरेका लगानीहरु पनि मिसम्याच भएका छन् । त्यस बाहेक एकापसमा बीमा गरेका निर्जीवन बीमा कम्पनीहरु नै मर्जरमा गएकाले त्यसले पनि केहि अप्ठेरो सृजना गरेको उनीहरु बताउँछन् ।
छलफल गर्दै प्राधिकरण
बीमा प्राधिकरणले पोष्ट मर्जर इफेक्टबारे बीमा कम्पनीका सीईओहरुसँग छलफल आयोजना गरेको छ । छलफलमा उठेका बिषयहरुका आधारमा त्यस्ता समस्याहरु समाधानका उपाय खोजिने प्राधिकरण कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । ‘हामी मर्जरमा गएका कम्पनीहरुसँग पोष्ट मर्जर इफेक्टबारे छलफल गर्दैछौं, त्यसबाट आएका निचोडका आधारमा अघि बढ्नेछौं’, कार्यकारी ,निर्देशक पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्