Shikhar Insurance
National Life

दसैं बिदामा घुम्ने आकर्षक सात पर्यटन गन्तव्य

सिंहदरबार संवाददाता
२०८० कार्तिक ५, आईतवार ०७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मौसम चिसिदैँ छ । भर्खरै वर्षा सकिएर आकाश पनि खुल्न थालेको छ। अहिलेको सिजनलाई घुमघामको सिजनभन्दा पनि फरक पर्दैन । पछिल्ला वर्षहरूमा नेपालीहरु पनि योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ। ट्राभल र ट्रेकिङ एजेन्सीहरूले पनि आन्तरिक तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी गन्तव्यहरूको प्याकेज बनाइरहेका छन्। यसपालि दसैंमा तपाईं परिवार, साथीभाइसँग घुम्न जाने सोच्दैहुनुहुन्छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं। यी गन्तव्यहरूमा तपाईं आफ्नै सवारीसाधन लिएर पनि जान सक्नुहुन्छ। अथवा विभिन्न ट्राभल कम्पनीहरूमार्फत बस र जीपमा पनि जान सक्नुहुन्छ।

मुस्ताङ
आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य स्थल हो, मुस्ताङ। अंग्रेजी महिना सेप्टेम्बर र अक्टोबर यो गन्तव्य घुम्नका लागि उपयुक्त समय हो। पछिल्लो समय जोमसोमदेखि माथिल्लो मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकहरू बढेका छन् । जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ भने पैदल यात्रा गर्दा तीन दिन लाग्छ। माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकको आगमन बढी हुने गर्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माथिल्लो मुस्ताङ प्राय साहसिक पदयात्रा, तिब्बती संस्कृति र हजार वर्ष पुरानो गुम्बाको अन्वेषणका लागि लोकप्रिय छ। अर्कोतर्फ तल्लो मुस्ताङ प्राकृतिक दृश्य, संस्कृति र विभिन्न सुन्दर परिदृश्यका लागि प्रसिद्ध छ। यस क्षेत्रमा नौतले गुफा,मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका प्रख्यात छन्।

पोखरा र पुनहिल
नेपालीहरूका लागि पोखरा घुमघामको पहिलो रोजाइमै पर्छ। पोखरा एक हिसाबले नेपालको पर्यटकीय राजधानी नै हो । एकै स्थानमा ताल, मन्दिर, गुफा, साहसिक खेलहरु प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर लगायत दर्जनौं गतिविधि हुने भएकाले पनि यो क्षेत्रलाई पर्यटकीय राजधानी भन्ने गरिन्छ ।

आँखै अगाडी टल्कने माछापुच्छ्रे यहाँको मुख्य आकर्षण हो। यसपाली बिदामा पोखरा घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने पुनहिलसम्म जान सक्नुहुन्छ। पदयात्रामा जाने पर्यटकको रोजाइको उत्कृष्ट र छोटो गन्तव्य हो, पुनहिल। पोखराबाट पदयात्रा हुँदै जान्छन्। तर सवारी सधानमा पनि जान सकिन्छ। पुनहिल पदयात्राको क्रममा दुई वटा विकल्प छन्। पुनहिल पदयात्रा मात्र। पुनहिल हुँदै अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा । पोखरादेखि पुनहिल जाने हो भने पाँच दिनको समय छुट्याए पुग्छ।

रारा ताल
मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। सबै नेपाली पुग्न चाहने स्थलमध्येको एक हो रारा ताल।समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित छ रारा ताल। वरिपरि जंगलको बीचमा रहेको तालले घामको किरण अनुसार आफ्नो रङ बदल्ने गर्छ।

रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उँचाइमा अवस्थित मुर्मा टप उपयुक्त ठाउँ हो। तर, आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा विदेशी पर्यटकको आगमन हुनुपर्ने हो। त्यति हुन सकेको छैन। पछिल्ला केही वर्षहरूमा आन्तरिक पर्यटक भने उल्लेखनीय रूपमा पुग्ने गर्छन् । रारा जानका लागि एकसाता छुट्याए पुग्छ ।

फोक्सुन्डो ताल
फोक्सुण्डो ताल शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्छ। डोल्पाको तीन हजार ६११ मिटरको उचाइमा रहेको फोक्सुण्डो ताल पनि रामसार क्षेत्र हो।

उडान र सवारी र पदयात्रा हुँदै पुग्नुपर्ने यो गन्तव्य पनि साहसिक एडभेन्चर जस्तै मानिन्छ। यात्राका क्रममा माथिल्लो डोल्पोले परम्परागत तिब्बती संस्कृति झल्काउँछ। यही संस्कृतिमा रमाउँदै फोक्सुन्डो घुम्न सकिन्छ। तल्लो डोल्पो, रिङ्मो गाउँ सहित, बौद्ध धर्मालम्वीलाई नजिकबाट नियाल्न पाइन्छ। यही कारण पनि फोक्सुन्डो ताललाई लोकप्रिय तीर्थ गन्तव्य बनाएको छ । हवाइ, सवारी र पदयात्रामार्फत फोक्सुन्डो ताल घुमफिरमा जान सकिन्छ। सहरको कोलाहलमा बसिरहेकाहरूका लागि यो ताल पनि उत्तम गन्तव्य बन्न सक्छ। फोक्सुन्डो ताल जान एक साताको समय छुटाउनुपर्छ ।

पाँचपोखरी
सिन्धुपाल्चोकमा रहेको पाँचपोखरी पछिल्लो समय ट्रेकिङका लागि युवा देखि तन्नेरीसम्मले मन पराएको गन्तव्य हो। राजधानी काठमाडौंबाट सवारी साधन र ट्रेकिङमार्फत पनि पाँचपोखरी पुग्न सकिन्छ। समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ।

यो ताल जनै पूर्णिमाको समयमा हिन्दू र बौद्ध तीर्थयात्राका लागि प्रसिद्ध छ। पाँचपोखरी क्षेत्रमा ह्योल्मो, तामाङ, शेर्पा र गुरूङ समुदायहरू छन्। पाँचपोखरीमा प्राकृतिक र सांस्कृतिक विविधता रहेकाले यो पदयात्रा सांस्कृतिक पर्यटनका लागि पनि निकै महत्वपूर्ण छ। पाँचपोखरी काठमाडौंबाट छोटो दुरीको पदयात्रा हो। यससँगै पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जको महत्वपूर्ण आकर्षणको केन्द्र मानिन्छ। यो जुगल पर्वत शृङ्खलाका विभिन्न हिमालहरूको आधार शिविर हो। पाँचपोखरी जान चार रपाँच दिन छुटाउनुपर्छ।

सौराहा
परिवार र साथीभाइसँग घुम्ने अर्को गन्तव्य सौराहा हो। यसलाई काठमाडौंबाट सहज र चाँडै पुग्ने गन्तव्यका रूपमा लिइन्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा ‘वाइल्ड लाइफ टुरिजम’ लागि चर्चित छ। यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक घुम्न पुग्छन्।

यहाँको मुख्य आकर्षण हात्ती र जिप सफारी हो। हात्ती तथा जीप सफारी गर्दा बाघ, गैंडा, अर्ना, जंगली हात्ती, घडियाल, चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ। साथै स्थानीय थारू संस्कृतिको नाच पनि यहाँको अर्को आकर्षण हो।

च्छो रोल्पा ताल
च्छो रोल्पा ताल दोलखामा पर्छ। नेपालको सबैभन्दा ठूलो हिमताल मध्य पर्ने च्छो रोल्पाबाट गौरीशंकर, सगरमाथा र लाङ्टाङ पर्वतश्रृङ्खलाहरू अवलोकन गर्न पाइन्छ। रोल्वालिङमार्ग हुँदै पुगिने यो ट्रेल धेरैको रोजाइमा पर्छ।

प्राकृतिक र मनोमोहक दृश्यले भरिएको च्छो रोल्पा ताल घुमघामका लागि सवारीसँगै पदयात्रा पनि गर्नुपर्छ। च्छो रोल्पा जानका लागि अक्टोबर उपयुक्त समय हो । यदी तपाईं च्छो रोल्पा जाने सोचमा हुनुहुन्छ भने पाँच दिन समय छुट्याए पुग्छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्