Skip to content
Shikhar Insurance
National Life

नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छः उपप्रधानमन्त्री खड्का

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ दिवसका अवसर नेपाली सेनाले बुधबार आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे । संयुक्त राष्ट्रसंघ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उनले संयुक्त राष्ट्रसंघकाे बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराए ।

“संयुक्त राष्ट्रसंघकाे बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो”, उपप्रधानमन्त्री खड्काले भने, “नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ।”  निःशस्त्रीकरण तथा विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हाम्रा प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि शान्ति सेनाले निरन्तर खटेर योगदान गरिरहेको बताए।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसंघले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताए । “संयुक्त राष्ट्रसंघअन्तर्गत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी राष्ट्रसंघलाई धन्यवाद दिन चाहन्छौं”, उनले भने।

हाल नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा छ । उपप्रधानमन्त्री खड्काले राष्ट्रसंघको आह्वानमा शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गरे । राष्ट्रसंघका महासचिवको लैंगिक समानता रणनीतिअनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गरी सक्षम महिलालाई शान्ति सेनामा पठाउन हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्