Shikhar Insurance
National Life

नेपालमा लगानीको सम्भावना सदुपयोग गर्न राष्ट्रपतिको एनआरएनएलाई आग्रह

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १३:१९
Hyundai
NCELL
NIMB
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार काठमाडौंमा सुरु भएको एनआरएनएको ११औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् ।
‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उनको भनाइ थियो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।
“नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ”, राष्ट्रपति पौडेलले भने, “हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस् ।”
आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ । नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गरे।
“नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ”, उनले भने, “नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नु सबैको कर्तव्य हो ।”
नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्दै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उहाँले आग्रह गरे ।
सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । “नेपालमा लगानीका लागि स्रोतको अभाव छ”, उनले भने, “नेपालमा लगानी गर्दा तपाईंहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।” उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक नागरिकता दिइने पनि उनको भनाइ छ ।
नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उहाँले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए । विदेशमा रहने प्रत्येक नेपालीहरु नेपालका लागि अवैतनिक राजदूतका रूपमा रहने परराष्ट्रमन्त्री साउदले उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । “नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ”, उनले भने ।
संयुक्त राष्ट्रसंघका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राख्नुभयो । “मुलुक बनाउनका लागि सङ्कल्पको कमी छ । हामीसँग पर्याप्त क्षमता हुँदाहुँदै हामीले त्यसको प्रयोग नेपालमा गर्न चुकेका छौँ । जबसम्म देश बनाउन नागरिक आफैँ जुट्दैनन् तबसम्म मुलुक समृद्ध हुँदैन”, महतोले भने ।
कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए । उनले श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गरे ।
विगतका वर्षमा नेपालमा लागानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उहाँको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताइन् । एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्नुहुँदै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे ।
संसारभर छरिएर रहेका नेपाली विकासका सच्चा साझेदार बन्न सक्ने औँल्याउनु हुँदै अध्यक्ष आचार्यले नेपालको माटो बेचेर विदेशमा सम्पत्ति नजोड्न पनि उहाँले आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्