गण्डकी । पोखरा आसपासका प्राचीन बस्तीमध्ये एक हो आर्बा । पोखरा महानगरपालिका–१३ मा अवस्थित यो गाउँमा धार्मिक पर्यटनका धेरै सम्भावना भएर पनि प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ। यस स्थानको पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकर्स क्लब नेपालले आफ्नो ३९औँं शृङ्खला आर्बामा सम्पन्न गरेको छ। हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय सम्भावना बोकेका स्थलको निरन्तर प्रवर्द्धन गरिरहेको उक्त क्लबले आफ्नो पछिल्लो शृङ्खला आर्बामा सम्पन्न गरेको त्यहाँका अध्यक्ष कृष्ण रानाभाटले बताए।
“हामी पर्यटकीय बजारमा पुुग्न नसकेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेका छौँ”, उनले भने, “पोखरा नजिक रहेर पनि आर्बाका धार्मिक पर्यटकीय गन्तव्यको गरिमा तथा महत्व अपेक्षित उजार हुन नसकेको अवस्थालाई दृष्टिगत गरी यो शृङ्खला आर्बामा केन्द्रित गरिएको हो ।” क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँमा हाइकिङ सञ्चालन गरिरहेको अध्यक्ष रानाभाटले बताए। उनका अनुसार पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिका लागि हाइकिङ आकर्षणको विषय बन्न थालेको छ ।
क्लबले पोखराको काहुँ खोलाबाट हाइकिङ सुरु गरी भञ्ज्याङ, चिप्लेटी, डाँडागाउँ, दुर्गा मन्दिर, उपल्लोथर, ब्याडा, उपल्लो गाउँहुँदै आर्वाको शिर महाप्रभुधामसम्म हाइकिङ गराएको सदस्य प्रितमबहादुर सेन ठकुुरीले जानकारी दिए। हाइकर्स टोली महाप्रभुधामबाट रतन पाण्डे माध्यमिक विद्यालय हुँदै पुनः काँहुखोलासम्म पदयात्रा गरी फर्केको उनले बताए। पोखराको दृश्यावलोकनसहित हिमाली दृश्य अवलोकन गर्दै एक दिवसीय हाइकिङ गर्न आर्बा उपयुक्त गन्तव्य ठहरिएको उल्लेख गर्दै सदस्य ठकुरीले यहाँका धार्मिक महत्वका स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए।
दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएका आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालले बताए। पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवम् ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको उनको भनाइ थियो । पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनुुका साथै ऐतिहासिक एवं धार्मिकस्थल पनि प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँको महत्व अझै बढेको छ ।
महाप्रभुधाम, मणिद्विपलगायत स्थानको प्रचारप्रसार एवं पूर्वाधार विकास गर्न सके यो क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने अध्यक्ष बरालले बताए।आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट आएका महाप्रभुले यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गरेकाले यहाँको गरिमा बढेको बताइन्छ । उनका अनुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे मन्दिर आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।
यहाँको अर्को धार्मिक महत्वको गन्तव्य रतन पाण्डे मन्दिर हो । अध्यक्ष बरालका अनुसार आर्बावासीको कल्याणको कामना गर्दै प्राचीनकालमा विन्ध्याचलबाट रतन पाण्डेको शिला ल्याएर स्थापना गरी पूजाआजा गर्न थालिएको हो । प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा रतन पाण्डे मन्दिरमा आर्बालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रहिआएको छ । पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्राचीन प्रचलन अझै पनि कायमै छ ।
महाप्रभुधाम, रतन पाण्डे मन्दिरसँगै यहाँको अर्को धार्मिक पर्यटकीयस्थल मणिद्विप पनि हो । आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका छन् । मन्दिरमा श्रद्धा र भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासीले बताए । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धा रभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त भएको विश्वास कायमै छ ।
प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको खरले छाएको मन्दिर २०६२ मा पुनःनिर्माण गरिएको तत्कालीन मन्दिर निर्माण समितिका सञ्चार संयोजक शिरोमणि बरालले बताए। उनका अनुसार २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिला प्राण प्रतिष्ठा गरेर स्थापना गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको विषयलाई यहाँको धार्मिक महत्वसँग जोडेर हेरिएको छ । त्यसयता ती धाम तथा द्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ ।
शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गरेका थिए। महाप्रभधामुका साथै आर्वाका मणिद्विप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको छ ।
आर्बाका धेरै पर्यटकीय सम्भावना प्रवद्र्धनको पर्खाइमा रहेको पोखरा महानगरपालिका–१३ का वडासदस्य बलबहादुर बरालले बताए। यी स्थललाई प्रवर्द्धन गर्न सकेमा यस ठाउँलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्