अर्घाखाँची । बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ ।
पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकीकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती यसै खाँची राज्यकी राजकुमारी थिइन् । सन्धिखर्क नगरपालिका–७ खाँचिकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक शक्ति पीठका रुपमा रहेको छ ।
पुरातत्व विभाग काठमाडौं रामशाह पथले गत सोमबारदेखि उत्खनन सुरु गरेको प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताए। ज्ञवालीसहित पाँच सदस्यीय टोलीले ऐतिहासिक दरबारको उत्खनन शुरु गरेको हो । उत्खननका क्रममा दरबारको भग्नावशेष प्राप्त भएको छ ।
प्राचीन इँटा, झिङ्गटी, चुराका टुक्रा, आधुनिक सिक्का, त्रिशूल, माला लगायतका प्राचीन वस्तुहरु फेला परेको प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले जानकारी दिए। उनले प्राचीन दरबारमा रहेको पर्खाल भत्काएर नयाँ संरचना बन्न थालेपछि उक्त निर्माण प्रक्रिया रोकेर उत्खनन सुरु गरिएको जानकारी दिए।
प्रमुख पुरातत्व अधिकृतसहित पाँच सदस्यीय टोलीमा पुरातत्व अधिकृत हरिप्रसाद भुसाल, विशेषज्ञ जगत कटुवाल, सहायक फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका छन् । खाँची राज्य नेपाल एकीकरणको समयमा पाल्पा राज्यसँगै एकीरकण भएको थियो । तत्कालीन राज्य रहँदा निर्माण गरिएको इनार अहिले पनि रहेको छ ।
पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्न, राज दरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावती खाँची राज्यका तेह्रोँ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् । नेपालको एकीकरण गर्न, राजदरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ ।
उनको जन्म विसं १७५९ मा खाँचीमा भएको थियो । उनको विवाह तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहसँग भएको थियो । गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आई विवाह गरेर गोरखा दरबारमा भित्र्याइएको इतिहास चन्द्रप्रभा माविका शिक्षक तीर्थराज आचार्यले बताए।
चन्द्रप्रभावतीबाट सन्तान नभएपछि नरभुपाल शाहले दोस्री श्रीमती पाल्पादेखि विवाह गरेर लगेका बताइन्छ । तिनै पाल्पाली राजकुमारी कौशल्याबतीबाट नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहको जन्मैदेखि स्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतीले गरेको इतिहासकारहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्