रुकुम । कुनै बेला दसैँ तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक घरहरु हुन्थ्ये ।
प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो । पछिल्लो समय त्यो प्रचलन फेरिएको छ । पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ । यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कोतिर घरमा हुने खर्च र लगानी बढाएको छ । “पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौँ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो”, चम्पा पुनले भनिन् ।
पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ । मौलिक घरहरु पनि बिस्तारै हराउँदै गएका छन् । सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भइरहेका छन् । गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको सङ्ख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुँदै गएको मुसिकोट–१ का गोविन्द केसीको भनाइ छ ।
स्वास्थ्यका हिसाबले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होडबाजीका कारण पनि गाउँमा सिमेन्ट र विभिन्न रङ्गको प्रयोग बढेको हो । मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ । हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने स्थानीय उदय केसी बताउछन् ।
प्रतिक्रिया दिनुहोस्