मनहरी । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाखका दरले धरौटी माग गरेको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्