काठमाडौं । राजर्षि गुरुकुलले आयोजना गरेको आरजी इन्टर हाउस पौडी प्रतियोगितामा वाटर हाउस विजेता बनेको छ । विद्यालयको आफ्नै प्राङ्गणमा रहेको स्विमिङ पुलमा आयोजित प्रतियोगितामा वाटर हाउसले ११६ अङ्क ल्याए पहिलो भएको राजर्षि गुरुकुलका खेलकुद प्रमुख कमल खड्काले जानकारी दिए ।
सन् हाउस १०६ अंकसहित दोस्रो भयो । यस्तै रकले १०० र ट्रीले २७ अंक जोड्यो । प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको विद्यालयका निर्देशक दिनेश भुसालले बताए ।
उनीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र किकिङ बोर्ड र ट्युबमा प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा हुँदा वाटर हाउसका खेलाडी पाँच विधामा विजेता बनेका थिए भने पाँच विधामा उपविजेता बनेका थिए ।
विद्यालय तहदेखि नै अध्ययनसँगै खेलकुदको विकास गर्न र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गर्नका लागि यस किसिमको प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्