काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ आज (असोज २४ गते) बुधबार बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १ करोड ३ लाख २१ हजार ३२८ कित्ता (कर्मचारीमा बाँडफाँट नभएको सेयर सहित) सेयर निष्काशन गरेको थियो। उक्त सेयरमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमा नै वितरण गरिएको छ। अर्थात १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता सेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्