काठमाडौं । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लागेका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुगे । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुगेका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाएका छैनन् । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैंको समयमा त बस थप्नुपरो नि”, उनले भने । काठमाडौंबाट दार्चुलाको भाडादर ४ हजार ६ सय रूपैयाँ छ ।
यस्तै, काठमाडौंबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा हुनुहुन्छ । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौंदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उनी बिहान ५ बजेदेखि नै लाइनमा छन् ।
सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ”, उनले भने।
धनगढीकै कपिल ओझा काठमाडौंदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताए । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैंको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उनले भने । काठमाडौंदेखि धनगढीको बस भाडा २ हजार ७ सय रूपैयाँ रहेको छ ।
यस्तै, काठमाडौंदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आएका छन् । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत छन् ।
यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आएका छन् । उनले एक घण्टा लाइन बसेर सहजै टिकट लिए। काठमाडौंदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्वक्षेत्रमा जाने यात्रुले तुलनात्मक रूपमा सहज रूपमा टिकट पाएका छन् । पूर्वक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् । “राजमार्ग बिग्रिएको कारण काठमाडौं आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उनले भने । सरकारले दसैंका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौंबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताए। “अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौं, १३ स्थानमा राख्छौं, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उनले भने । उहाँ यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताए।
यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।
लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्ल दसैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताए । “अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ”, उनले भने।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौं महानगरपालिका–२६ गोंगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्